चितवनका अस्पतालका स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण

माघ १४, २०७८
चितवनका अस्पतालका स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण

कोभिडको तेस्रो लहर सुरु भएसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पनि धमाधम संक्रमित हुन थालेका छन् । दिनदिनै जसो स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालका सेवाहरु नै प्रभावित बन्न थालेका छन् ।

चितवनको भरतपुर अस्पताल धेरै भिडभाड हुने मध्येको अस्पताल हो । कोरोना संक्रमितसँगै अन्य बिरामीको चाप बढ्दै गएपछि यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीसमेत संक्रमित हुँदै गए । कोभिड तेस्रो लहर सुरु भएसँगै यो अस्पतालका ८५ जना चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यसले अस्पतालको स्वास्थ्य सेवा नै प्रभावित बनाएको छ । 

भरतपुर अस्पतालसँगै चितवन मेडिकल कलेज, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेजलगायत अस्पतालमा कार्यरत ५३७ जना चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । चितवनका मात्र नभई भक्तपुर, मोरङ, नवलपरासी, पाल्पालगायत जिल्लाका अस्पतालहरुको अवस्था पनि उस्तै छ । 

भक्तपुरको क्यान्सर अस्पताल र शहिद धर्मभक्त अंगप्रत्यारोपण केन्द्रका गरी ५६स्वास्थकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण भएको छ । यसले नियमित सेवा प्रभावित हुने हो कि भन्ने चिन्ता थपिएको  छ । विराटनगरको कोशी अस्पतालमा पनि ठूलै संख्यामा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कोरोना संक्रमित भएका छन् । चिकित्सकसहित ११० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित भएकाले स्वास्थ्य सेवामा समस्या देखिन थालेको अस्पतालले जनाएको छ । नवलपरासीको मध्यविन्दु जिल्ला अस्पताल र दुम्कौली स्वास्थ्य चौकीका पनि अधिकांश स्वास्थ्यकर्मी संक्रमित भएपछि जिल्ला अस्पतालको ओपीडी, प्रयोगशाला र एक्सरे सेवा नै बन्द गरिएको छ भने स्वास्थ्य चौकीको आकस्मिक र प्रसुति सेवा मात्रै सञ्चालनमा छ । पाल्पामा पनि १२१ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । यसले खोप अभियान, एन्टीजेन परीक्षणलगायतका सेवा प्रवाहमा असर परेको छ । अहिलेको भेरिएन्ट निकै संक्रामक भएकाले धेरै स्वास्थ्यकर्मी संक्रमित हुन पुगेको चिकित्सकको भनाई छ । 

संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पााच दिन होम आइसोलेसनमा बसेर पुनः काममा फर्किन थालेका छन् । कतिपय स्वास्थ्यकर्मीहरु सामान्य लक्षण देखिएकाले परीक्षण नै नगरी काममा पनि खटिँदै आएका छन् । यही गतिमा स्वास्थ्यकर्मी संक्रमित हुँदै गए धेरै स्वास्थ्य सेवामा समस्या नआउला भन्न सकिादैन ।


Enter Kantipur TV HD
Advertisement