भारतको लोकसभा निर्वाचन : तयारी अन्तिम चरणमा, पहिलो चरणमा २१ राज्यमा मतदान हुने

वैशाख ४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
भारतको लोकसभा निर्वाचन : तयारी अन्तिम चरणमा, पहिलो चरणमा २१ राज्यमा मतदान हुने

काठमाडौं । भारतमा स‌ंघीय संसद्‌को तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आगामी शुक्रबार पहिलो चरणको मतदान हुँदैछ । पहिलो चरणको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

लोकसभाका ५ सय ४३ सदस्य चयनका लागि अप्रिल १९ देखि हुने मतदान सात चरण अर्थात् जुन १ सम्म हुनेछ । सबै चरणको मतदान सकिएपछि जुन ४ मा मतगणना गरिनेछ । यो भारतको इतिहासमै सबैभन्दा लामो समय ४४ दिनसम्म चल्ने निर्वाचन हुने छ । पहिलो चरणअन्तर्गत २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ स्थानका लागि मतदान हुनेछ । पहिलो चरणअन्तर्गत मतदान हुने २१ राज्य र केन्द्र शासित प्रदेशमध्ये १० वटा राज्य र केन्द्र शासित प्रदेशका सम्पूर्ण निर्वाचन क्षेत्रमा र बाँकी ११ वटाका केही मात्र निर्वाचन क्षेत्रमा मतदान गरिनेछ ।

पहिलो चरणअन्तर्गत अन्डमान निकोबार टापु, अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, जम्मुकश्मिर, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नगाल्याण्ड, पुडुचेरी, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुनेछ ।विश्वको सबैभन्दा बढी जनसंख्या अर्थात् करिब १ अर्ब ४४ करोड जनसंख्या रहेको भारतमा करिब ९६ करोड ९० लाख मतदाता छन् । कुल मतदातामध्ये ४९ करोड ७० लाख पुरुष र ४७ करोड १० लाख महिला छन् ।

मतदानका लागि देशभर करिब १५ लाख मतदानस्थल स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान इलेक्ट्रोनिक भोटिङ्ग मेसिन इभीएमबाट गरिनेछ । यसका लागि ५५ लाख इभीएमको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक र असक्तका लागि पहिलो पटक हुलाकबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदानको व्यवस्थापन र सुरक्षाका लागि मतदान अधिकृत र सुरक्षाकर्मी गरी डेढ करोड जनशक्ति खटाइने छ । 

यो निर्वाचनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक सत्ताको बागडोर आफ्नो हातमा लिने लक्ष्यमा छन् । मत सर्वेक्षणहरुले मोदीको दल भारतीय जनता पार्टी र उसको एनडीए गठबन्धन अगाडी रहेको देखाएका छन् । कंग्रेसलगायत दुई दर्जनभन्दा बढी विपक्षी पार्टीको इण्डिया गठबन्धन एनडीए गठबन्धनलाई टक्कर दिन जोडतोडका साथ लागेको छ । भाजपाका मूल प्रचारकका रुपमा मोदी छन् भने राहुल गान्धी इण्डिया गठबन्धनको प्रमुख अनुहार हुन् ।

लोकसभामा सामान्य बहुमतका लागि २ सय ७२ सिट जित्नु आवश्यक छ । मोदीको दल भाजपाले सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा ३ सय ३ सिट जितेको थियो । एनडीए गठबन्धनले कुल ३ सय ५३ सिट जितेको थियो । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले जम्मा ५२ सीट जितेको थियो ।



Enter Kantipur TV HD
Advertisement