‘सतीदेवी’ मा मलिकालाई जुत्ताको माला

माघ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
‘सतीदेवी’ मा मलिकालाई जुत्ताको माला

काठमाडौं । पछिल्लो समय सार्वजनिक भएका नेपाली चलचित्रका फर्स्टलुक, थिम पोस्टरमध्ये ‘सतीदेवी’ को नौलो देखिएको छ । सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्माण गरेको सतीदेवीको पोस्टरमा अभिनेत्री मलिका महतलाई गाउँलेहरुले लखेटिइरहेको देखाइएको छ ।

उनको गलामा जुत्ताको माला र मोसो दलिएको छ । नेपाली समाजमा नारीप्रतिको थिचोमिचो कतिसम्म विद्यमान छ भन्ने पोस्टरमा देखाइएको सुवेदीले जनाए । उनका अनुसार चलचित्र पूर्ण रुपले सामाजिक कथामा निर्माण गरिएको छ । नेपाली समाजमा छोरा र छोरीप्रति हुने गरेको भेदभाव र छोरीको महत्त्वको विषयलाई चलचित्रमा उठान गरिएको छ ।

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रका लेखक, गीतकार, निर्मातासमेत रहेका निर्देशक सुवेदी केही समयभित्रै चलचित्रको प्रदर्शन मिति तय गरिने बताउँछन् । उनले संसारभरका दर्शकमाझ ‘सतीदेवी’ पुर्याउने तयारीमा रहेको जनाए ।

दिलासा क्रिएसन प्रालिले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा बनेको चलचित्रको स्क्रिप्ट र गीत निर्देशक सुवेदी स्वयंले लेखेका हुन् । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको चलचित्रलाई सबै वर्गका दर्शकले निर्वाध हेर्न पाउनेछन् ।

मलिका शीर्ष भूमिकामा रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बाँनिया बालकलाकारका साथमा कुलबहादुर अधिकारी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, भोला सापकोटा, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटा, विमल श्रेष्ठ, ईश्वरी सिंहलगायतले अभिनय गरेका छन् ।

दीपक शर्मा र सुवास भुसालको संगीत रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् । तारा थापा ‘किम्भे’ को सम्पादन, कोरियोग्राफी रामजी लामिछाने, सम्राट थापाको पार्श्व संगीत कुनाल कुँवरको डीआई कलर ग्रेडिङ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement