काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम क्षेत्र नम्बर २ का रास्वपा उम्मेद्वार मिलन लिम्बुसँग स्पष्टीकरण माग गरिने र चित्त नबुझे कानुनअनुसार कारबाही गरिने जानकारी दिनुभएको छ । आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले के गर्छ भनेर सोधिएको प्रश्नमा प्रतीक्षा गर्न आग्रह गर्दै उहाँले कानुन बमोजिम कारबाही गर्न नहिच्किचाउने बताउनुभयो ।
लिम्बुले माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित जनता कल्याण मावि केन्द्रमा मतदान गर्दा पार्टीको चुनाव चिह्न अंकित लोगो लगाउनुभएको थियो ।
निर्वाचन आचारसंहिता २०७९ को दफा १८ -क) ले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने व्यवस्था गरेको छ । आचारसंहिताको दफा ४६ ले आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँ जरिवाना वा उम्मेद्वारीसमेत रद्द गर्न सक्ने व्यवस्था छ ।
यस्तै, इलामको महेन्द्र क्याम्पस प्रांगणमा एक्जिट पोल गर्न खोज्ने समूहलाई पनि रोक लगाइएको उहाँले बताउनुभयो । निर्वाचन आयोगले इलाम २ को मतगणना सुरु गरेको १२ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाएको छ ।