कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनु भएको छ । एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

५२ जना प्रदेशसभा सदस्यको समर्थनसहितको हस्ताक्षर सनाखत भएसँगै उहाँलाई कोशीका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा आजै नियुक्त गर्नु भएको हो । नवनियुक्त मुख्यमन्त्री कार्कीलाई आजै शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार हिजो राति सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले आज दाबी पेश गर्नुभएको थियो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक हुन्थ्यो । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थकको सनाखत गराएर मुख्यमन्त्री बन्नु भएको हो ।

हिक्मतकुमार कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसक्नुभएको छ । २०७९ पुस २९ गते पहिलोपटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि २०८० असार १४ मा राजीनामा दिनुभएको थियो ।

सर्वोच्च अदालतको परामादेशपछि २०८० भदौ २२ मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले असोज २० मा फेरि राजीनामा दिनुभएको थियो । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लाग्नु भएको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो राति दुई दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गर्नुभएको हो । असोज २७ मा केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यसैबीच प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गरेपछि कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालत जाने तयारीमा हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.