काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहनुभएका कतारका राजा शेख तामिम विन हमद अल थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर थानीले पौडेलसँग औपचारिक भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोतमन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साललगायतको सहभागिता थियो ।
भेटका क्रममा राष्ट्रपति पौडेलले कतारी राजासमक्ष हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गर्नुभएको थियो । जवाफमा कतारी राजाले आफूले यस विषयमा विगतमा पनि चासो लिएको र अब पनि थप पहल गर्ने आश्वासन दिनुभयो ।
यस्तै कतारका तर्फबाट उच्च प्रतिनिधिमण्डलको सहभागिता थियो । बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उहाँ मंगलबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो । कतारका राजाको सम्मानमा राष्ट्रपति पौडेलले आजै सोल्टी होटेलमा राजकीय रात्रिभोजको आयोजना गर्नुभएको छ ।
कतारका राजा थानीले भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम तय छ । त्यसपछि विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । कतारका राजाको टोली भोलि मध्याह्नमा स्वदेश फर्कने तालिका छ ।
आजै नेपाल आइपुग्नुभएका कतारका राजा थानीलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका राजा थानीलाई विमानस्थलबाटै सांस्कृतिक झाँकीसहित स्वागत गरिएको हो । कतारका राजा अल थानीको स्वागतमा सम्मान गारदका साथै नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो ।
कतारका राजा थानीलाई स्वागतका लागि राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुग्नुभएको थियो ।
यसैगरी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रीपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारीका साथै कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु विमानस्थलमा उपस्थित हुनुभएको थियो ।
यो पनि...
कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ?
कतारी राजाको भ्रमणमा सार्वजनिक बिदा
कतारका राजा नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने
कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत