काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट अधिवेशन सहज रुपमा चल्नेमा संशय व्यक्त गर्नुभएको छ । संसद्को बजेट अधिवेशन वैशाख २८ गतेदेखि बस्दै छ ।
नेकपा माओवादी केन्द्रको आज सिंहदरबारमा बसेको संसदीय दल बैठकमा प्रधानमन्त्री दाहालले सदन सहज रुपमा चल्नेमा आंशका व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले विपक्षीहरुसँग भएका छलफल निष्कर्षमा नपुगेकाले सदन सहज रुपमा चल्छ भन्ने स्थिति नरहेको बताउनुभएको हो ।
बैठकपछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिले विपक्षीसँग छलफल भइरहेको तर कुनै सहमति नजुटेको जानकारी प्रधानमन्त्रीले बैठकलाई जानकारी दिएको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको संलग्नता रहेको भन्दै छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।
यसअघिको विधेयक अधिवेशन पनि विपक्षीको अवरोधका कारण चल्न नसकेपछि सरकारले अन्त्य गरिदिएको थियो ।