काठमाडौं । शिक्षकले राजनीतिक दलको सदस्य बन्न र ट्रेड युनियनमा संलग्न हुन नपाउने प्रावधानसहित सरकारले ल्याएको शिक्षा विधेयक संसद्मा छलफलका क्रममा छ । यसबाहेक शिक्षा मन्त्रालयले तीन दिनअघि राजनीतिक दलमा संलग्न शिक्षक-कर्मचारीलाई कारबाही गर्न देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरुलाई निर्देशनसमेत दिएको छ ।
तर, शिक्षकहरु भने राजनीति गर्न पाउनुपर्ने जिकिर गर्दै सरकारलाई नै चुनौती दिइरहेका छन् । नेपाल शिक्षक महासंघको दोस्रो महाधिवेशनमा महासचिव लक्ष्मीकिशोर सुवेदीले त ट्रेड युनियन अधिकारमा लागेकै भरमा कारबाही गरे मन्त्रीको कुर्सी नै उडाउन सक्ने अधिकार शिक्षकमा रहेको भन्दै चेतावनी नै दिनुभयो ।
शिक्षक नेताहरुले सरकारसँग भएका सहमतिअनुसार संशोधनसहित शिक्षा विधेयक पास नभए आन्दोलनको चेतावनी दिएका छन् । सामुदायिक विद्यालयका अस्थायी प्रकृतिका सबै शिक्षकको स्थायित्व, ईसीडीका शिक्षकको दरबन्दी व्यवस्थालगायत पेसागत स्थायित्वको सुनिश्चितता हुनुपर्नेलगायत माग उनीहरुले अघि सारेका छन् । शिक्षक तथा कर्मचारीमैत्री शिक्षा ऐन ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।
तर, सत्तारुढ एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनले भने महाधिवेशन बहिष्कार गरेको छ । वैशाख १२ सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।