काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ । सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले पहिलाको जस्तो गरेर हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरु नरहेको जिकिर गर्नुभयो । यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । अहिले कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको सुरुवात भएको भन्दै जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर रहेको उहाँले बनाउनुभयो ।
'हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं,' उहाँले भन्नुभयो, 'हामी त्यो बेलामा अलि बढी हौसिएछौं कि समयभन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु। त्यसकारण अहिले हामीले सहकार्य सुरु गरेका छौँ । राम्रो सहकार्य गरौँ । यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिउँ ।'
उहाँले जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुका बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने दाबी गर्नुभयो । संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढिकरणमा इमान्दार भएर लाग्नु आजको आवश्यकता भएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।