साउदी प्रो लिगमा आलीमाथि अल रियादको दुई/एक गोलको जित

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिगमा आलीमाथि अल रियादको दुई/एक गोलको जित

काठमाडौं । साउदी प्रो लिगमा रेलिगेशन जोन बाट बच्न संघर्षरत अल रियादले तेस्रो स्थानको अल आलीमाथि दुई/एक गोलको जित हात पारेको छ ।

रियादस्थित प्रिन्स फैजल बिन अहमद स्टेडियममा गएराति भएको खेलमा घरेलु टोलीले ४३ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि मालीयन मिडफिल्डर बिरामा टोरेले पेनाल्टिमा गोल गरेका हुन् । जिम्बाब्वेका फरवार्ड नलेज मुसोना माथि फाउल भएपछि रियादले पेनाल्टिको अवसर पाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा बार्सीलोना तथा मिलानका पुर्व खेलाडी फ्रांक केसीले पाहुना टोलीका तर्फबाट गोल गर्दै खेल बराबरी गरेका थिए । तर ८४ औं मिनेटमा अब्दुल्हादी अल हाराजीनले गोल गरेपछि रियादले अल आलीलाइ स्तब्ध पार्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । यो नतिजा पछि रियाद २९ खेलबाट २८ अंकका साथ तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।

यो रेलिगेशन जोन भन्दा तीन स्थान माथि हो । अल आली २८ खेलबाट ५२ अंकका साथ तेस्रो स्थानमा यथावत् छ । दोस्रो स्थानको अल नासरको ६८ र लिग लिडर अल हिलालको ७७ अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.