कमजोर तयारीका साथ नेपाली टोली मैत्रीपूर्ण फुटबल खेल्न इंग्ल्यान्ड जाँदै

फुटबलमा लगानी गर्न आएको पैसाले पदाधिकारी घुमाउँदै एन्फा
एन्फाका २० जना सदस्य टोलीमा
वैशाख १२, २०८१ |विनयज्योति सापकोटा
कमजोर तयारीका साथ नेपाली टोली मैत्रीपूर्ण फुटबल खेल्न इंग्ल्यान्ड जाँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमलाई इङ्ल्यान्डको सी टोलीसँग खेलाउँदैछ । यसका लागि नेपाली टोलीले मंगलबारदेखि अभ्यास सुरु गर्‍यो । जबकि वैशाख २४ गते खेल हुने तालिका छ । अभ्यासका लागि छोटो समय रहेको र इंग्ल्यान्डको अल्डरसट क्लबसँगको मैत्रीपूर्ण खेल भएकाले यो अवसर खेलाडी र पदाधिकारी घुमाउनमा सीमित हुने देखिएको छ ।

मलेसियासँगको मैत्रीपूर्ण र बहराइनसँगको विश्वकप छनोटका लागि एन्फाले जिम्मेवारी नभएका पदाधिकारीलाई भ्रमणमा पठाएको भनेर आलोचना भइरहेको छ । तर अहिले कमजोर तयारी गरेर एन्फाले खेलाडीलाई नै युरोप खेल्न पठाउँदै छ । इंग्ल्यान्ड फुटबल पिरामिडको पाँचौं वरीयताको अल्डरसट टाउन क्लबसँग इबीबी रंगशालामा नेपाली टोलीले मैत्रीपूर्ण फुटबल खेल्दै छ । वैशाख २४ गतेको खेलका लागि एन्फाले मंगलबार मात्र तयारी थालेको हो ।

राष्ट्रिय टिमका लागि खेलाडी छनोटको आधार एन्फाले तयार पारेको छैन । प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसले इटालीबाटै नेपाली टोलीको घोषणा गरे । नेपालले विश्वकप छनोटका महत्त्वपूर्ण चार खेलमा पराजय बेहोरेर छनोटबाट बाहिरिइसकेको छ । त्यसलगत्तै एन्फाले नेपाली टोलीलाई तयार पार्नुपर्नेमा अन्तिम समयमा मात्र प्रशिक्षणका लागि बोलाएको हो ।

इंग्ल्यान्डको एन्डरसल्ट धेरै नेपाली रहेको ठाउँ हो । तर कमजोर तयारी गरेर गएको टोलीले नेपाली समर्थकलाई निराश पार्न सक्छ । सयभन्दा धेरै खेलाडी पलायन भएको अवस्थामा एन्फाले लामो अभ्यासमा राखेर खेलाडी छनोट गर्नुपर्ने हो । तर तयारी नै नगरी खेलाडीलाई खेलाउन लैजाने कि घुमाउने भन्ने प्रश्न उठेको छ । त्यति मात्र नभएर एन्फाले मैत्रीपूर्ण खेलका नाममा पदाधिकारीलाई विदेश सयर गराउने योजना बनाएको छ ।

नेपाली टिमसँग ३५ जना पठाउने भनिए पनि थप २० जना पदाधिकारी तथा सदस्य पठाउने तयारी भइरहेको एन्फा स्रोतले जनाएको छ । प्रतियोगिताका लागि भन्दै भिसा लिइदिने तर पदाधिकारी आफैं जान लागेको भन्ने एन्फाको भनाइ कति जिम्मेवार हो ? मलेसिया र बहराइनसँगको खेलमै स्रोतको दुरुपयोग गरेको भन्दै मन्त्रालयले एन्फालाई कारबाही गर्ने चेतावनी दिएको थियो । फुटबलमा लगानी गर्न आएको पैसा पदाधिकारी घुमाउन प्रयोग गर्नु स्रोतको दुरुपयोग हो कि होइन ?

एन्फालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीबाट सहयोग आउँछ । नेपाली प्रायोजक र सरकारले दिने रकम त्यसको तुलनामा नगन्य छ । यसैको फाइदा उठाएर एन्फाले नेपाली कानुनलाई पनि बेवास्ता गर्न थालेको छ । लगातार घरेलु प्रतियोगिता गरेर फुटबलको विकासमा लाग्नुपर्ने संस्था पदाधिकारीलाई घुमाउनै व्यस्त बनेपछि नेपाली फुटबल गम्भीर दुर्घटनामा नपर्ला भन्न सकिँदैन ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।