काठमाडौं । राष्ट्रपति रनिङ शिल्डमा आज एथ्लेटिक्समा आठ विधाका खेल सम्पन्न भएका छन् । गण्डकी प्रदेशका बादल कार्की र कर्णालीकी सरिता खड्काले प्रतियोगितामा दोस्रो स्वर्ण पदक जितेका छन् । बादलले हिजो १५ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।
बादलले आज ८ सय मिटर दौड दुई मिनेट पाँच सेकेन्डमा पूरा गरेर स्वर्ण जितेका हुन् । यही दुरीको छात्रातर्फको खेलमा भने कर्णाली प्रदेशकी सरिता खड्का पहिलो भएकी छन् । उनले निर्धारित दुरी दुई मिनेट २८ सकेन्डमा पूरा गरेकी हुन् । उनले हिजो ४ सय मिटर दौडमा पनि स्वर्ण जितेकी थिइन् ।
त्यसैगरी लङजम्पको छात्रतर्फको स्वर्ण कर्णाली प्रदेशका रमेश थारुले जिते । उनले ६ दशमलव ६४ मिटर जम्प गरेका थिए । त्यसैगरी प्रनिशा महतो लङ्जम्पमा पहिलो भएकी छन्। उनले ४ दशमलव ९५ मिटर जम्प गरिन् । आजै भएको ज्याभिलिन थ्रोको छात्रतर्फ स्वर्ण पदक सुदूरपश्चिमका सुकविर पोखरेलले जितेका छन् ।
यो विधामा छात्रातर्फ सरिता विकले स्वर्ण जितिन् । उनले ३१ दशमलव ५४ मिटर थ्रो गरिन् । आज विहान चार गुण एक सय मिटर रिले दौड पनि सम्पन्न भएको छ । रिले दौडमा बागमतीका निकेश सापकोटा, सन्तबहादुर दराई, सविन भोलान र प्रविण राना मगरको टोली पहिलो भएको छ ।
छात्रातर्फ भएको यही दुरीको रिले दौडको स्वर्ण पदक बागमतीले नै आफ्नो नाम गरेको छ । बागमतीकी प्रनिशा महतो, दिना गोपाली, जिशिका महतो र कृतिका रञ्जितकार पहिलो भएका हुन् ।