फुटबल खेलाडीको बेलायत जान भिसा नआएकोबारे खेलकुदमन्त्रीको चासो, थप १५ पदाधिकारीको भ्रमणमा रोक

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
फुटबल खेलाडीको बेलायत जान भिसा नआएकोबारे खेलकुदमन्त्रीको चासो, थप १५ पदाधिकारीको भ्रमणमा रोक

काठमाडौं । बेलायतमा हुने दुई मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटवल संघ एन्फाका महासचिवसँग जानकारी लिनु भएको छ ।

भिसा ढिलाइको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव किरण राईले आज रातिसम्ममा भिसा आउने दाबी गर्नु भयो । भिसा लिनकै लागि भारतको नयाँ दिल्लीमा पठाएको पनि महासचिव राईले जानकारी गराउनु भएको थियो ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र हिजो स्वीकृती दिएको सदस्य सचिव टंकलाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराउनु भयो । यस बाहेक ५ जना एन्फा भीआईपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतीका लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पार्नु भयो ।

यस विषयमा एन्फा महासचिव राईले खेलाडी र टिमको मात्र स्वीकृती लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृती नलिएको जिकिर गर्नु भयो । उहाँले बाँकी २० जना आफ्नै खर्चमा जान लागेको जानकारी दिनु भयो । तर, एन्फाले उनीहरूको भिसाका लागि बेलायती राजदूतावासमा सिफारिस भने गरेको जनाएको छ ।

राष्ट्रिय खेलकुद ऐन, अनुसार अन्तर्राष्ट्रियस्तरमा सहभागी हुन जाँदा खेलाडी र पदाधिकारी सबैले स्वीकृती लिनुपर्ने व्यवस्था रहेको सदस्य सचिव घिसिङको भनाइ थियो । मन्त्री श्रेष्ठले नियमअनुसार अन्य १५ पदाधिकारीहरू बेलायत जानका लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृती लिनुपर्ने निर्णय गर्नु भएको छ । स्वीकृती नलिएसम्म थप १५ पदाधिकारी बेलायत जान पाउनेछैनन् ।

युवा तथा खेलकुद मन्त्रालयले परिषदको स्वीकृतीबिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.