गठबन्धन दलबीच भागबन्डा नमिल्दा कर्णालीमा सरकार विस्तारमा सकस

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गठबन्धन दलबीच भागबन्डा नमिल्दा कर्णालीमा सरकार विस्तारमा सकस

सुर्खेत । कर्णाली प्रदेशमा भागबन्डा मिलाउन नसक्दा सरकार विस्तार हुन सकेको छैन। सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा मुख्यमन्त्री यमलाल कँडेललाई आफुले सपथ लिएको ११ दिन बितिसके पनि सरकार विस्तार गर्न कठिन भएको हो ।

कँडेल मुख्यमन्त्री नियुक्त हुनुअघि पनि सत्ता गठबन्धनका दलको पटक–पटक बैठक बसे पनि सहमति हुन नसकेपछि प्रदेश प्रमुखले दिएको ७ दिनको समय घर्किन थालेपछि अन्तिम दिनमा उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।

त्यसयता सत्तारूढ एमाले र माओवादीबीच बैठक नै बस्न सकेको छैन। प्रदेशस्तरमै सहमति जुटाउन नसकेपछि मुख्यमन्त्रीको शपथ लिएको २ दिनमै कँडेल काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतालाई भेट्नु भएको थियो । उहाँ मंगलबार सुर्खेत फर्किए पनि माओवादी संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा काठमाडौंमै हुनुहुन्छ । जसका कारण दुवै दलबीच निर्णायक बैठक बस्न नसकेको हो।

मुख्यमन्त्रीले कामकाजमा सजिलोका लागि सामाजिक विकास मन्त्रालय एमालेलाई दिन आग्रह गरेको एमाले प्रमुख सचेतक टेकराज पछाईले बताउनुभयो । मुख्यमन्त्रीकै अडानका कारण कुरा मिल्न नसकेको माओवादी सांसद दुर्गबहादुर रावतले बताउनुभयो । 

४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीलाई २४ सांसदको समर्थन छ। एमालेका १०, माओवादीका १३ र समाजवादीका १ सांसदको समर्थनमा कँडेल गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। कर्णालीमा ८ मन्त्रालय छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement