पोखरा । गण्डकी प्रदेश सभाको बैठक सुरु भएलगत्तै स्थगित भएको छ । नेपाली कांग्रेसका सभासदले बहिष्कार गरेको बैठक सुरु हुनासाथ स्थगित भएको हो । यसअघि कांग्रेस गण्डकीको संसदीय दलको बैठकले आजको प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।
बैठकले आजदेखि सुरु हुने संसद् बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । असंवैधानिक हिसाबले बोलाइएको बैठकमा सहभागी नहुने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
कांग्रेसले बैठकले गरेको निर्णयसहितको ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको छ । ज्ञापनपत्रमा सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी असंवैधानिक एवं गैरकानुनी रुपमा सरकार गठन भएको तथा सर्वोच्च अदालतबाट प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेक दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश भएको उल्लेख गरिएको छ ।