काठमाडौं । सभामुख देवराज घिमिरेले विधायकी कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन संसदीय समितिका सभापतिहरुलाई निर्देशन दिनुभएको छ । सभामुख घिमिरेले समितिमा रहेका विधेयकको स्थिति र भइरहेको कामबारे जानकारी लिँदै कानुन बनाउने कामलाई गति बढाउन निर्देशन दिनुभएको हो ।
संसदीय समितिका सभापति र दलका सचेतकहरुसँग आज भएको छलफलमा सभामुख घिमिरेले समितिहरुले अहिलेकै गतिमा काम गर्दा सदनले पर्याप्त काम पाउने स्थिति नहुने भन्दै त्यसलाई तिव्रता दिन आग्रह गर्नुभएको हो । त्यस क्रममा समितिका सभापतिहरुले स्रोत साधनदेखि कोरम नपुग्ने समस्याका कारण समस्या हुने गरेको बताए ।
बैठकपछि सभामुख घिमिरेले सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको बताउनुभयो । सभामुख घिमिरेले भन्नु भयो, 'सदनको गतिरोध अन्त्य गर्ने विषयमा प्रयास भइरहेको र दलहरुबीच आवश्यक परे थप छलफल गर्छु ।'
सभामुखसँगको छलफलमा समितिका सभापतिहरु, राजनीतिक दलका सचेतकसँगै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसमेत सहभागी हुनुहुन्थ्यो । मन्त्री गरीले संसद्को आगामी अधिवेशन वैशाख अन्तिम साता बोलाउने तयारी भइरहेको जानकारी दिनुभयो । सदनलाई सहज रुपमा अघि बढाउन दलहरुबीच औपचारिक तथा अनौपचारिक तहमा छलफल भइरहेको उहाँको भनाइ थियो ।
मन्त्री गिरीले सहकारी समस्या समाधानका लागि सरकराले नयाँ कानुनी प्रवन्ध गर्न लागेको र त्यो अध्यादेश मार्फत पनि हुन सक्ने संकेत गर्नुभएको छ ।