काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेबिया सँग खेल्दै छ । खेल वर्षाका कारण ढिलाइ भएको छ । हिजो राति आएको हावाहुरीको कारण कभर उडाएर पिचमै वर्षा भएको थियो।
त्यसपछि एउटा पिच खराब भएको छ। त्यो पिचमा पानी सुकाउने काम भइरहेको छ। यसैकारण टस ढिलो भएको हो। पिचको दोस्रो अनुगमन पौने १२ बजे भएको छ। नेपाल यसअघि नै समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ। तीन खेलमा शतप्रतिसत जित निकोलेको नेपाल हिजो साउदी र कतारबीचको खेलपछि समूह विजेता बनेको हो।
नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो ।
उपाधि दाबेदार नेपालविरुद्ध साउदी अरबले पहिलो पटक टी-ट्वेन्टी आई खेल्न लागेको हो । मध्यपूर्वी टोलीले समूह चरणका ३ मध्ये १ खेल जितेको छ । अब समूह ए मा कुनै टिमले पनि छ अंक बनाउने छैनन्। आज यही समयमा मलेसियाले हङकङसँग खेल्ने तालिका छ। यो खेलको विजेताले पनि सेमिफाइनलमा स्थान बनाउने सम्भावना छ।
यता समूह विजेता बनिसकेको नेपालले आज सेमिफाइनल र फाइनलमा महत्वपूर्ण हुनसक्ने खेलाडीलाई आराम दिने सम्भावना छ।