८ वर्ष अघिको बलात्कारको घटनाले सडकदेखि संसदसम्म तरंग

जेष्ठ ६, २०७९
८ वर्ष अघिको बलात्कारको घटनाले सडकदेखि संसदसम्म तरंग

हरेक वर्ष देशैभर २ हजारभन्दा बढी बलात्कारका उजुरी प्रहरीसम्म पुग्छन् । तर कतिपय घटना यस्ता देखिएका छन् जसलाई पीडितले वर्षौसम्म पनि लुकाएका कारण उनीहरु आफै न्यायबाट वञ्चित हुनुपरेको छ । त्यसमाथि बलात्कारको मुद्दा दर्तामा एकबर्षे हदम्याद कायम हुँदा कतिपय चाहेर पनि न्यायको ढोकासम्म पुग्न सकेका छैनन् । यसैसाता एक किशोरीले करिब ८ वर्ष अघि सुन्दरी प्रतियोगितामा भाग लिँदा आफूमाथि बलात्कार भएको भन्दै श्रृंखलाबद्द विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यौन हिंसाको उजुरीमा हदम्याद हटाउन र पीडितलाई न्याय दिनुपर्ने माग चर्को गरी उठेको छ ।

बुधबारदेखि सामाजिक संञ्जालमा सार्वजनिक भएको यो भिडियोले बलात्कारका घटनाका पिडितहरु कसरी पिल्सिएर बस्दारहेछन् भन्ने देखाउँछ । ती युवतीले ८ बर्षअघि  सुन्दरी प्रतियोगितामा सहभागी हुँदा आफूमाथि कसरी यौन दुर्व्यवहार भयो भन्ने विवरण श्रृखलावद्द रुपमा सार्वजनिक गरेकी छन् । त्यही आधारमा घटनाको छानविन र पीडितलाई न्याय दिन माग गर्दै प्रदर्शन शुरु भएको छ। 

तर ८ वर्ष अघि भएको घटनाको अब न्यायिक  प्रक्रिया सम्भव छ कि छैन ? यसमा धेरैको चासो छ। घटना सार्वजनिक गरेकी पीडितले अहिलेसम्म उजरी त दिएको छैनन् तर प्रहरीले अनुसन्धान भने अघि बढाएको छ । 

बलात्कारको घटनामा एक वर्षभित्र कानुनी प्रक्रिया अघि बढानुपर्ने व्यवस्था छ।  अहिलेको घटनामा पीडित किशोरी नावालिक हुँदाको भएकोले उनी १८ वर्ष पुरा भएको एक वर्षसम्म पनि उजुरीमा जान सक्ने व्यवस्था कानूनमा छ । तर पीडकलाई कार्वाहीको दायारमा ल्याउने बाटो रोकिएको छैन । बलात्कारमा हद म्याद लागे पनि यौन शोषण, परिवारको सहमति बिना घर बाहिर लगेको र मानव बेचविखनको कसुरमा मुद्धा चल्न सक्ने बाटो खुल्लै छ। त्यसका लागि पनि पीडितको सहयोग भने चाहिन्छ । 

बलात्कार जस्तो जघन्य अपराध अनि हदम्यादको तगारो । त्यसैले यो बिषयमा संसदमा समेत आवाज उठेको छ । सभामुखले बलात्कार सम्बन्धी कानुनमा देखिएको अवरोध हटाउन सरकारलाई रुलिङ नै गरेका छन् । 

बलात्कारको घटना लुकाएर राख्नु आफैंमा अपराधीलाई संरक्षण जस्तै हो । तर सामाजिक मनोविज्ञानका कारण  महिलाहरुले घटना सार्वजनिक नगर्ने प्रवृति पनि छ । त्यसैले पीडितलाई न्याय दिन कडा कानून र त्यसको कार्यान्वयनमा कँहीकतै सम्झौता हुनुहुन्न ।