अमेरिकाले युक्रेनलाई गोप्य रुपमा लामो दूरीको मार हान्ने क्षेप्यास्त्र आपूर्ति गरेको खुलासा

वैशाख १३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा लामो दूरीको मार हान्ने क्षेप्यास्त्र आपूर्ति गरेको खुलासा

काठमाडौं । अमेरिकाले युक्रेनलाई गोप्य रुपमा लामो दूरीको मार हान्ने क्षेप्यास्त्र आपूर्ति गरेको खुलासा भएको छ । यसअघि बाइडन प्रशासनले युक्रेनलाई यस्तो क्षेप्यास्त्र आपूर्ति गर्न असहमति जनाउँदै आएको थियो । तर बाइडन स्वयंको आदेशपछि यसै महिनाको सुरुमा युक्रेनलाई यस्तो क्षेप्यास्त्र प्रदान गरिएको र युक्रेनले रुसी सेनाविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गर्न सुरु गरेको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।

यी क्षेप्यास्त्रहरु मार्च महिनामा राष्ट्रपति बाइडनले युक्रेनका लागि स्वीकृत गरेको ३० करोड डलर बराबरको सहायता प्याकेज अन्तर्गतको भएको र ती हतियार यसै महिना युक्रेन पुगेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

बाइडनले हिजो मात्रै युक्रेनका लागि थप ६१ अर्ब डलरको सैन्य सहायतासम्बन्धी प्याकेजलाई स्वीकृति दिएका छन् । संसद्‌को दुवै सदनले उक्त सहायतालाई अनुमोदन गरेका थिए । यसअघि अमेरिकाले युक्रेनलाई मध्यम दूरीको मार हान्ने क्षेप्यास्त्र प्रदान गर्दै आए पनि लामो दूरीको मार हान्ने क्षेप्यास्त्र दिन आनाकानी गर्दै आएको थियो । तर गत फेब्रुअरीमा बाइडनले गोप्य रुपमा लामो दूरीको मार हान्ने क्षेप्यास्त्र आपूर्ति गर्न अनुमति दिएका थिए ।

यी क्षेप्यास्त्रले तीन सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने जनाइएकोछ । अहिलेसम्म युक्रेनलाई कति संख्यामा यस्ता क्षेप्यास्त्र आपूर्ति गरियो भन्ने कुरा स्पष्ट नभए पनि अमेरिकाले थप यस्ता क्षेप्यास्त्र पठाउने योजना रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

युक्रेनले अमेरिकाबाट प्राप्त लामो दूरीको मार हान्ने क्षेप्यास्त्रको प्रयोग पहिलोपटक गत साता रुस अधीनस्थ क्राइमियास्थित रुसी सेना हवाई अखाडामा मार हान्न प्रयोग गरेको रोयटर्सले जनाएको छ । यही मंगलबार राति पनि रुसी कब्जामा रहेको युक्रेनी बन्दरगाह सहर बेर्डिआन्स्कस्थित रुसी सेनाविरुद्ध यो क्षेप्यास्त्र प्रहार गरिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

रुसले २०२२ को फेब्रुअरी २४ मा युक्रेनमाथि अतिक्रमण सुरु गरेयता दुवैतर्फ हजारौं सैनिकले ज्यान गुमाएका छन् । युक्रेनका हजारौं नागरिक मारिएका छन् । लाखौं विस्थापित भएका छन् ।



Enter Kantipur TV HD
Advertisement