भारतमा आजदेखि लोकसभा निर्वाचन सुरु

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
 भारतमा आजदेखि लोकसभा निर्वाचन सुरु

काठमाडौं । विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आजदेखि आमचुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिनालगाएर सात चरणमा चुनाव हुन लागेको हो । अप्रिल १९अर्थात आजदेखि सुरु हुने मतदान सात चरण अर्थात १ जुन सम्म चल्नेछ भने ४ जुनमा यसको मतगणना गरिनेछ । आज पहिले चरणको मतदान हुँदैछ । 

पहिलो चरणमा २१ राज्यको १ सय २ सिटका लागि आज मतदान हुँदैछ । उत्तर प्रदेशका ८, बिहारका ४, मध्यप्रधदेशका ६, राजस्थानका १२, उत्तराखण्डका ५ सिट , पश्चिमबंगालका ३, असमको ४, मेघालयका २, अरुणाचलका २, मणिपुरका २, महाराष्ट्रका ५, तमिलनाडुका ३९, छत्तीसगढको १, मिजोरमको १, नागालैंडको १, सिक्किमको १ र त्रिपुराको १, जम्मु कश्मिरको १, अण्डमान निकोबार टापुको १, लक्षद्वीपको १, र पुडुचेरीको १ सिटमा आज मतदान हुँदैछ ।

स्थानीय समयअनुसार अहिले बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । आज मतदान हुने १०२ सिटका लागि १ हजार ६ सय २५ उम्मेदवार मैदानमा रहेका छन् । मतदानलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ भने नेपालसँग जोडिएका राज्यहरुमा सीमा गरिएको छ । करिब एक अर्ब ४४ करोड जनसंख्या रहेको भारतमा करीब ९७ करोड मतदाता रहेका छन् । कुल मतदातामध्ये ४९ करोड ७० लाख पुरुष मतदाता र ४७ करोड १० लाख महिला मतदाता रहेको जनाइएको छ ।

मतदानकालागि देशभर करिब १५ लाख मतदानस्थल स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान इलेक्ट्रोनिक भोटिङ्ग मसिन ईभीएमबाट गरिने छ भने यसकालागि ५५ लाख ईभीएमको व्यवस्था गरिएको छ । वृद्ध र असक्तका लागि पहिलो पटक हुलाकबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले भारतको प्रत्येक कुनासम्म लोकतन्त्रलाई पुर्‍याइने भन्दै मतदान गर्नबाट कुना कन्दराका मानिस नछुटुन भन्ने व्यवस्था मिलाइने दृढता व्यक्त गरेका छन् । मतदानको व्यवस्थापन र सुरक्षाका लागि मतदान अधिकृत र सुरक्षाकर्मी गरी करिब डेढ करोड जनशक्ति खटाइने आयोगले जनाएको छ ।

५४३ सदस्यीय लोकसभामा सामान्य बहुमतका लागि २७२ सिट जित्न आवश्यक छ । यो निर्वाचन मार्फत प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल पनि सत्ता सम्हाल्ने आकांक्षामा छन् भने विपक्षी कांग्रेस र उसको गठबन्धन मोदीलाई रोक्न जोडतोडले लागिरहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement