२०८१ मा स्वास्थ क्षेत्रमा के-के सुधार आवश्यक छ ?

वैशाख १, २०८१ |कृपाल गौतम
२०८१ मा स्वास्थ क्षेत्रमा के-के सुधार आवश्यक छ ?

काठमाडौं । संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको छ । पछिल्ला वर्षहरुमा स्वास्थ सेवाको पहुँच बढे पनि र भौतिक संरचना निर्माणमा केही काम भएपनि पर्याप्त नभएकाले थप तिब्रताका साथ काम गर्नुपर्ने छ । अझ जटिल रोगको उपचार र विशेषज्ञ सेवा विस्तारका लागि नयाँ वर्ष २०८१ मा धेरै काम गर्नुपर्नेछ ।

स्वास्थ्य सेवाको सुधारका लागि सबैभन्दा महत्वपूर्ण कुरा स्पष्ट दृष्टिकोण चाहिन्छ । यसकारण २०८१ सालको सुरुवातमै स्वास्थ्य मन्त्रालयले स्पष्ट दृष्टिकोण सहित सुधारको नीति बनाउनुपर्छ र कार्यान्वयन पनि गर्नुपर्छ । आधारभूतदेखि विशिष्टकृत सेवालाई सवल बनाउन मन्त्रालय दत्तचित्त भएर काम गर्नुपर्छ । स्वास्थ्य सेवा नागरिकका लागि यति गम्भीर विषय हो कि राम्रो एजेन्डा भएमा यसले दललाई निर्वाचनमा जित दिलाउन पनि सक्छ तथा हराउन पनि सक्छ ।

तथ्यांकका आधारमा हेर्ने हो भने अहिले पनि धेरै नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् । यसकारण पहिलो कदम नै सबै जनताले कम्तिमा आधारभूत स्वास्थ्यसेवा पाउने सुनिश्चितता तर्फ चालिनुपर्छ । बर्सेनि उपचार गराउँदा गराउँदै ५ लाख नागरिक त गरिबीको रेखामुनि नै धकेलिने गरेको स्वयम् स्वास्थ्य मन्त्रालयकै तथ्यांक छ । यस्तो अवस्थामा स्वास्थ्य बिमालाई सवैको पहुँचमा पुर्‍याउनु दोश्रो महत्वपुर्ण कदम हुनेछ । अहिले नेपालमा २७ प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमामा आवद्ध छन् । तीमध्ये ३० प्रतिशतले बिमा नै नवीकरण गरेका छैनन् । 

सरकारले नयाँ वर्ष २०८१ मा सबै नागरिकलाई बिमामा आवद्ध गराउन सक्ने मात्र होइन, नवीकरण गराउने वातावरण बनाउनसमेत आवश्यक छ । ७ सय ५३ वटै स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भन्दै २०७७ मंसिरमा ३ सय ९६ वटा स्वास्थ्य संस्था शिलान्यास भएको थियो भने २०७८ सालमा २ सय ५९ आधारभूत अस्पताल बनाउने घोषणा पनि भएको थियो । तर २ वर्ष बितिसक्दा जम्मा २७ वटा मात्र निर्माण सम्पन्न भएका छन् । अब यो वर्ष सबै अस्पताल निर्माण गर्ने मात्र होइन, सञ्चालन नै गर्नुपर्छ ।

२०८१ सालमा सरकारले स्वास्थ्य क्षेत्रमा गर्नैपर्ने तेस्रो महत्वपूर्ण काम भनेको स्वास्थ्यका जनशक्तिको दरबन्दी थप्नु हो । अहिले हाम्रोमा कम्तिमा पनि ६३ हजार २ सय २५ स्वास्थ्यकर्मी आवश्यक छ । तर ३० हजारको मात्र दरबन्दी छ । २०४८ सालदेखिको नथपिएको दरबन्दी थप्न स्वास्थ्य मन्त्रालयले तत्काल काम सुरु गर्नुपर्छ । उपकरणको खरिद तथा वितरण प्रणालीलाई पारदर्शी बनाउनसमेत आवश्यक छ भने प्रयोगविहीन भएर थन्किएका उपकरण चाहिएको ठाउँमा पुर्याउनु पनि पर्नेछ ।

नसर्ने रोगको भार पछिल्लो समय बढ्दै गएर ७० प्रतिशत पुगेको छ । यस्ता रोग लाग्नै नदिने गरी सुरुवातबाटै काम गर्नुपर्ने छ । अस्पतालमा उपचार गर्न जाँदा हुने भिड व्यवस्थित गर्न डिजिटल हेल्थको कार्यान्वयन गर्नसमेत जरुरी छ । उपचारको क्षेत्रमा नयाँ वर्ष सुरु भएको नागरिकलाई महसुस गराउने इच्छा भए सरकारले गर्ने धेरै कामहरु छन्,  त्यसका लागि आवश्यकता छ- इच्छाशक्ति र सुरुवातको । 


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement