अब अनलाइनबाट आवेदन दिएको दुई दिनमै एनओसी

चैत्र ५, २०८० |कान्तिपुर टीभी संवाददाता
अब अनलाइनबाट आवेदन दिएको दुई दिनमै एनओसी

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेपछि शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले वितरण प्रक्रिया थप व्यवस्थित बनाउने भएको छ ।

शाखाले भोलिदेखि नै लागु हुने गरी अनलाइन आवेदन दिएको दुई दिनमै एनओसी उपलब्ध गराउने तयारी गरेको हो । पछिल्लो समय विद्यार्थीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ६ बजेसम्म सेवा दिइरहेको छ । साथै जनशक्ति थप गरी अनलाइन प्रणालीबाट कागजपत्र पेस गरेको चौबीस घण्टाभित्रै प्रमाणीकरण गर्ने र त्यसको भोलिपल्ट अनुमतिपत्र उपलब्ध गराइसक्ने व्यवस्था गर्ने तयारी रहेको शाखा प्रमुख वासुदेव वस्तीले जनाए ।

विदेशमा उच्च शिक्षा अध्ययनका लागि अनुमतिपत्र लिन दिनहुँ दुई हजार विद्यार्थी भक्तपुरको सानोठिमीस्थित शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा पुग्ने गर्छन् । यो साता मात्र ११ हजारले एनओसी लिएका छन् । अहिले जापान र कोरियाका विश्वविद्यालयमा भर्नाको समय भएकाले पनि एनओसी लिने विद्यार्थीको चाप बढेको हो ।

वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार चालु आवको आठ महिनामा ८० हजार विद्यार्थीले अनुमतिपत्र लिइसकेका छन् । गत वर्ष एक लाख १० हजारले एनओसी लिएका थिए । चालु आर्थिक वर्षको आठ महिनामै उच्च शिक्षा अध्ययनका नाममा ६६ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement