घरघरै पुगेर बालबालिकलाई ‘होमवर्क’ गराउँदै खैरहनी नगरपालिका

फाल्गुन २५, २०८० |न्युज एजेन्सी नेपाल
घरघरै पुगेर बालबालिकलाई ‘होमवर्क’ गराउँदै खैरहनी नगरपालिका

काठमाडौं । चितवनको खैरहनी नगरपालिकाले बालबालिकलाई घरघरमै पुगेर होमवर्क गराउने कार्यक्रम ल्याएको छ । नगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागि बस्तीमै पुगेर गृहकार्य कक्षा सञ्चालन गरेको हो ।

दैनिक ज्याला/मजदुरी गरेर परिवार पाल्नुपर्ने, बालबच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाका लागि यस्तो कार्यक्रम ल्याइएको नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले जानकारी दिए ।

‘सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेका छौं,’ नगर प्रमुख खनियाँले भने, ‘गृहकार्य कक्षाको लागि बस्तीनजिक रहेको कोठा, सामुदायिक भवन, संघसंस्थाको भवन र विद्यालयकै कोठा प्रयोग गरिएको छ ।’

गृहकार्य कक्षाको सहायताले विपन्न परिवारका बालबालिकामा विद्यालयपश्चात पनि पढ्ने लेख्ने बानीको विकास हुने उपप्रमुख कविता उप्रेतीले बताइन् । गृहकार्यका लागि नगरपालिकाले २८ जना सहजकर्ताहरूलाई खटाएको उनको भनाइ छ ।

‘गृहकार्य कक्षाका लागि वडा समितिले छनोट गरेका २८ जना सहजकर्तालाई खटाएको छ,’ उनले भनिन्, ‘बहालवाला शिक्षक, स्वयंसेवक शिक्षकलाई यस कार्यमा खटाइएको छ । प्रत्येक दिन दुईघण्टा कक्षा सञ्चालन हुन्छ ।’

कार्यक्रमले नगरपालिकाको १३ वटै वडाका करिव ७ सय ८४ जना विद्यार्थी लाभान्वित हुने खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँको भनाइ छ । 


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।


Enter Kantipur TV HD
Advertisement