फाइल तस्बिर ।
इलाम । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताउनुभएको छ ।
इलाममा शनिबार आयोजित चुनावी सभामा उहाँले निर्वाचनअघिको गठबन्धन गलत हुने अनुभव गरेर कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताउनुभयो । उहाँले इलामले अब परिवर्तन खोजेको पनि बताउनुभयो । उहाँले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनाव लड्न आग्रह गर्नुभयो ।
‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्यूको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संकल्प गर्नुहुनेछ,’ शर्माले भन्नुभयो, ‘हामी राम्रोसँग चुनाव लडौं । एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौं । स्वस्थ ढंगले आलोचना मात्रै गरिराखेर लडौं । नेपाली काँग्रेस पार्टी एक्लै चुनावमा रुख चिह्न लिएर खडा छ । यो एक्लै खडा भएको बेलामा त्यो दिन बिर्सिन मिल्दैन । हाम्रो अनुभवले के भन्योभन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ ।’
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका डम्बर खड्काले पहिचानको मुद्दामा कांग्रेसले पूर्ण रुपमा सहयोग प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नाम तोकिसकिएको कोशी प्रदेशलाई एक नम्बर प्रदेशका रुपमा अभिव्यक्त गर्दै आफूले पहिचानवादीको मुद्दा बोकेकाहरुको माग सम्बोधन गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाइसकेको बताउनुभयो ।
‘गुरुले मलाई पहिचानको मुद्दामा केही बोल्नुस् भनिसकेपछि मैले १४ वटै कोशी प्रदेशभरका सभापतिहरुलाई यहीँ बैठक बोलाएर एक नम्बर प्रदेशको नामावलीसम्बन्धी पुनःविचार गरियोस् र नेपाली कांग्रेसले पहिचानवादी मुद्दा बोकेका साथीहरुको पनि सम्बोधन गरोस्, भनेर प्रेस विज्ञप्ति काठमाडौंमा लगेर लिखित दिएको छु,’ खड्काले भन्नुभयो, ‘पहिचानवादीको मुद्दामा पनि कांग्रेसले पूर्ण रुपमा सहयोग गर्नेछ ।’
उहाँले निर्वाचनमा आफूलाई इलामका जनताले जिताउनेमा ढुक्क रहेको बताउनुभयो ।