विश्वासको मत नपाउँदै सुदूरपश्चिममा गठबन्धनभित्र खटपट

आज पनि विश्वासको मत नदिने एमालेको अडान
वैशाख २२, २०८१ |टेकराज जोशी
विश्वासको मत नपाउँदै सुदूरपश्चिममा गठबन्धनभित्र खटपट

धनगढी । विश्वासको मत नपाउँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी र सत्तारुढ दल नेकपा एमालेबीच खटपट सुरु भएको छ । छलफल नै नगरी विश्वासको मत लिने मिति तय गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश संसदीय दल मुख्यमन्त्रीसँग रुष्ट भएको हो । 

शुक्रबार बेलुकी ५ बजे मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आह्वान गरिएको प्रदेशसभा बैठक एमालेका सांसद कार्य परामर्श समितिको बैठकमै उपस्थित नभएपछि स्थगित गरिएको थियो । मुख्यमन्त्री सोडारीले शनिबार बेलुकी साढे ५ बजे विश्वासको मत लिनका लागि पुनः बैठक बोलाउनु भएको छ । तर आफूहरूसँग छलफल नै नगरी फेरि बैठक बोलाइएको भन्दै एमाले संसदीय दलले आजको बैठकमा पनि सहभागी नहुने जनाएको छ । 

कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले आफूहरूसँग कुनै छलफल र परामर्श नै नगरीकनै बैठक आह्वान गरिएको भन्दै आजको बैठकमा सहभागी नहुने बताउनुभयो ।

‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले हतार नगरौँ भनेका हौँ,' उहाँले भन्नुभयो, 'एकलौटी तरिकाले गठबन्धनको सकार चल्दैन सबैसँग छलफल र परामर्श हुनु पर्छ । बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारी बुवाको निधन भएर क्रियामा हुनुहुन्छ उहाँको शपथ ग्रहणपछि विश्वासको मत दिन्छौँ भनेकै छौँ । कुनै व्यक्तिलाई हतार भयो भन्दैमा हामीले छलफल परामर्श नगरी विश्वासको मत दिने भन्ने हुँदैन ।'

नेता रावल केन्द्रीय नेतृत्वसँग छलफलका लागि काठमाडौं जान लागेको जानकारी दिँदै विश्वासको मतका विषयमा छलफल गरेर फर्किने बताउनुभयो ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।