गण्डकीका २ विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मा

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गण्डकीका २ विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मा

पोखरा । दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले दिएको आदेशविपरीत गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले दुई विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्नुभएको छ ।

मुख्यमन्त्री अधिकारीले चैत २५ गते आफूसँगै मन्त्रीको शपथ लिनुभएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानलाई आर्थिक मामिला र स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी तोक्नुभएको हो । दुई मन्त्रीलाई जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुखको निवासमा आइपुगेको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

मनाङे केन्द्रमा सत्तागठबन्धन फेरिएलगत्तै कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा दुई साता सोही मन्त्रालय लिएर सहभागी हुनुभएको थियो । तर दुई सातापछि मुख्यमन्त्री अधिकारीलाई समर्थन गर्दै उहाँ फेरि सोही मन्त्रालय फर्किनुभएको छ ।

मुख्यमन्त्री अधिकारीलाई सर्वोच्च अदालतले कुनै पनि दीर्घकालीन असर पर्ने निर्णय तथा नियुक्ति नगर्न भनेको छ । तर उहाँले विभिन्न विवादित निर्णयहरु गर्दै आउनुभएको छ । दोस्रोपटक मुख्यमन्त्री बने यता अधिकारीले प्रदेशसभा बैठक आह्वानदेखि योजना आयोगको उपाध्यक्ष, न्यायाधिवक्ता, प्रेस संयोजकलगायत नियुक्ति दिइसक्नुभएको छ । सर्वोच्च अदालतमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिविरुद्धको मुद्दाको पेसी वैशाख १० गते तोकिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement