सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ का वडाध्यक्ष कार्यालयबाटै पक्राउ

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ का वडाध्यक्ष कार्यालयबाटै पक्राउ

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–७ का वडाध्यक्ष रवि तामाङलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको छ । प्रहरीले नक्कली सेवाग्राहीका रुपमा गएर तामाङलाई आइतबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको वडाध्यक्ष तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव यादवको नेतृत्वमा खटिएको टोलीले वडा कार्यालयबाटै पक्राउ गरेको हो ।

पक्राउपछि तामाङलाई जिल्ला अदालत पेश गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनु भयो । जरिवाना तिरेको खण्डमा ३ दिनभित्र रिहाइ हुने र जरिवाना तिर्न नसकेमा दैनिक ३ सय रुपैयाँका दरले कट्टी हुनेगरी जेल नै बस्नुपर्ने जिल्ला अदालत सिन्धुपाल्चोककी तहसिलदार कल्पना अर्यालले जनाउनु भयो ।

प्रहरीले बहालवाला जनप्रतिनिधिलाई नै पक्राउ गरेको सिन्धुपाल्चोकमा यो पहिलो घटना हो । जिल्ला प्रहरी कार्यालयले ठूलो प्रयासपछि वडाअध्यक्ष तामाङलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.