पोखरा । बचतकर्ताको रकम फिर्ता र ठगी गरी फरार आरोपितलाई छिटो पक्राउ गर्न माग गर्दै पोखराका सहकारीपीडितले प्रदर्शन गरेका छन् ।
दुई वर्षदेखि आन्दोलन गर्दै आएका पोखराका ६ वटा सहकारीपीडितले सोमवार बृहत र्याली निकालेर प्रशासन र सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले रकम हिनामिनाको आरोप लागेपछि फारार जीबी राई, देवबहादुर नेपालीलगायत आरोपितलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने उनीहरूको माग छ ।
कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले रकम हिनामिनामा धेरैखाले व्यक्तिहरु जोडिएको र सरकारले आरोपितलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना गर्नुभयो ।
पीडितहरूले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापा, प्रमुख जिल्ला अधिकारी वसुदेव घिमिरे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार करिब दुई हजार बचतकर्ताले तीन अर्ब ६० करोड ठगी भएको भन्दै उजुरी दिएका छन् । उजुरीका आधारमा एक सय १३ जनाविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउपुर्जी जारी भएकामध्ये २९ जना मात्र पक्राउ परेका छन् ।
कास्कीमा सूर्यदर्शन, इमेज, शिवशिखर, मित्रमिलन, बलिदानी, बिन्दावासिनीलगायत ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ ।