लिग नजित्दै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्दै मच्छिन्द्र

पुस २१, २०७८
लिग नजित्दै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्दै मच्छिन्द्र

घरेलु फुटबलको शीर्ष डिभिजन लिग जित्ने टोलीले एएफसी कप छनोट खेल्ने अवसर पाउँछन् । मच्छिन्द्र फुटवल क्लबका लागि यो मौका दुई वर्ष अघिनै आएको थियो ।  २०७६ सालको लिग च्याम्पियन बने पनि मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स नहुँदा सहभागिता जनाउन पाएन  र दोस्रो भएको आर्मी भाग्यमानी बन्यो ।  यो सिजन भने मच्छिन्द्रले लिग नजित्दै एएफसी कपको प्रारम्भिक चरणमा नेपालको प्रतिनिधित्व गर्दैछ ।

यस पटक एएफसी कप छनोट खेलका लागि टिम दर्ता गरिसक्नुपर्ने मितिमा सहिद स्मारक ए डिभिजन लिगको सातौं चरण मात्र सकिन्थ्यो । त्यसैले अखिल नेपाल फुटवल संघ एन्फाले सातौं चरण सकिँदा शीर्ष स्थानमा रहने टोलीलाई छनोटमा सहभागी गराउने निर्णय गरेको हो । मच्छिन्द्रले  कडा चुनौती दिइरहेको मनाङ मर्स्याङ्दी क्लबलाई उछिन्दै यो अवसर पाएको हो । ए डिभिजनमा  उक्लिएपछिको ११ वर्षमा मच्छिन्द्रले एएफसी कप छनोट खेल्दैछ । मच्छिन्द्रले, प्रतिस्पर्धा गर्ने दक्षिण एसियाली प्रvतिद्वन्दीको भने टुंगो लाग्न बाँकी छ।

मच्छिन्द्र स्टार खेलाडीले भरिएको टिम भए पनि क्षमता अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन । लिगका सात मध्ये दुई खेलमा गोल नै गर्न सकेको छैन । हिमालयन शेर्पा विरुद्धको तीन–शून्यको नतिजा  नै अहिलेसम्मको फराकिलो जित हो । मच्छिन्द्रले गरेका ९ मध्ये पाँच गोल सेट पिसमा भएको हो । त्यसमा मिडफिल्डर सुनिल बलले गरेका छन् । गोलकिपर विशाल श्रेष्ठले पछिल्ला ६ खेलमा क्लिन सिट राखेका छन् । 

मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठसहित विशाल श्रेष्ठ, विशाल राई, अभिषेक रिजाल, बुद्ध चेम्जोङ, देवेन्द्र तामाङ, सुनिल बल, रञ्जित र बिजय धिमालसँग एएफसी कप खेलिसकेको अनुभव छ । 

अहिलेसम्म मनाङ, थ्रीस्टार र त्रिभुवन आर्मी क्लब एएफसी कपमा सहभागी भएका छन् । यी क्लबले प्रारम्भिक चरणभन्दा माथिको यात्रा तय गर्न सकेका छैनन् । मच्छिन्द्रले भने नयाँ इतिहास बनाउने अवसरसमेत पाएको छ ।