युद्धका कारण गाजाका नागरिकमा मानसिक रोग देखिन सक्ने राष्ट्रसंघको चेतावनी

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
युद्धका कारण गाजाका नागरिकमा मानसिक रोग देखिन सक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं । गाजाका नागरिक तथा बालबालिकामा जारी युद्धका कारण मानसिक रोगहरू देखिन सक्ने खतरा बढ्दै गएको संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक त्लालेन्ग मोफोकेंगले सोमबार चेतावनी दिएकी छन् । युद्धका कारण मानिसक रोग तत्कालका लागि नभएर दीर्घकालीन रूपमा असर पर्ने र अन्य प्रकारका रोग निम्त्याउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेकी हुन् ।

गाजाका अस्पतालहरुमा इजरायलद्वारा गरिएको निरन्तर आक्रमणका कारण त्यहाँको स्वास्थ्य प्रणाली पूर्ण रूपमा समाप्त भएको र स्वास्थ्य कर्मीहरुको पनि अभाव भएकोमा उनले चिन्ता व्यक्त गरिन् । मोफोकेङले गाजा पट्टीमा पानी र हावाबाट हुने रोगहरूको जोखिम, चिकित्सा आपूर्ति, प्रजनन र मानसिक स्वास्थ्य सेवाहरूको अभावको बारेमा चिन्तित रहेको बताइन् । उनले यसप्रति निकै गम्भीर हुनुपर्ने आवश्यकता औल्याइन् ।

युनिसेफले फेब्रुअरीमा गाजाका १७ हजार बालबालिका द्वन्द्वकालमा परिवारबाट अलग्गिएका कारण मानिसक रोगी भएको र झन्डै सबै बालबालिकालाई मानसिक स्वास्थ्य सहयोग आवश्यक पर्ने अनुमान गरेको थियो ।

हमासले सैन्य गतिविधिका लागि अस्पताल, एम्बुलेन्स र अन्य चिकित्सा सुविधाहरू नियमित रूपमा प्रयोग गरेको इजरायलको आरोप छ । सोही गतिविधिलाई मध्यनजर गरी इजरायलले गाजाका अस्पतालहरुमा आफ्ना सैन्य आक्रमण बढाएको बताइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement