इजरायली सेनाको कारबाहीमा प्यालेस्टिनी १० लडाकु मारिएको दाबी

वैशाख ८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायली सेनाको कारबाहीमा प्यालेस्टिनी १० लडाकु मारिएको दाबी

काठमाडौं । इजरायली सेनाले शुक्रबार वेस्ट बैंकस्थित नुर शाम्स शरणार्थी शिविरमा गरिएको कारबाहीमा १० लडाकु मारिएको दाबी गरेको छ ।

प्यालेस्टिनी सञ्चारमाध्यमले एक किशोरसहित पाँचजना मारिएको जनाए पनि इजरायली सेनाले सामाजिक सञ्जाल एक्समार्फत १० जना मारिएको जनाएको हो । इजरायलले उक्त शिविरमा दुईदिन कारबाही अभियान चलाएको थियो । त्यसक्रममा ३० प्यालेस्टिनी पक्राउ परेका छन् । छापा मार्ने क्रममा इजरायली सेनाले विस्फोटक पदार्थ र गोलाबारुदसमेत फेला पारेको बताइएको छ ।

यसैबीच इस्तानबुलमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा टर्की र इजिप्टका विदेशमन्त्रीहरुले प्यालेस्टिनी राज्यको अवधारणामाथि जोड दिँदै गाजाबाट थप प्यालेस्टिनी विस्थापित हुने अवस्था आउन नदिन चेतावनी दिएका छन् । इजरायलले १५ लाख गाजाका बासिन्दाले आश्रय लिइरहेको दक्षिणी रफाहमा कारबाही गर्ने योजना बनाइरहेका बेला टर्की र इजिप्टको यस्तो भनाइ आएको हो ।

अक्टोबर ७ यता सुरु भएको इजरायल-हमास युद्धमा ३३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।



Enter Kantipur TV HD
Advertisement