नेपाली चलचित्र : न पैसा न त चर्चा नै

किन फ्लप हुन्छ नेपाली फिल्म ?
फाल्गुन ११, २०८० |विकास आचार्य
नेपाली चलचित्र : न पैसा न त चर्चा नै

काठमाडौं । पुसयता मात्रै १० वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तीमध्ये जम्मा दुई चलचित्रले मात्रै आशातित व्यापार गरे । चलचित्र ‘दयारानी’ दोस्रो सातामा प्रवेश गर्दा बाँकी चलचित्रले लगानीसम्म उठाउन सकेनन् ।

चलचित्र जिग्री सिभिल महलको क्युएफएक्स सिनेमाजमा एक जनाले मात्र हेरे । दोस्रो दिनसम्ममा अधिकांश हलबाट उत्रियो पनि । चलचित्र दुई कदम र पर्खि बसेँ तिमीलाई बक्स अफिसमा कमजोर साबित रहे । दिमाग खराब र भष्मे डनले चर्चा र पैसा दुवै कमाउँदा अरु फिल्मले दर्शकको सान्तवनासम्म पाएनन् । आखिर किन फ्लप हुन्छ फिल्म ? अधिकांश फिल्म हेर्न दर्शक हलसम्म किन जाँदैनन् ?

चलचित्र हेर्नकै लागि हलमा पुगेकी अनुजा पौडेलले पहिलाजति मिहिनेतले फिल्म बनाउने निर्देशक नभएर यस्तो अवस्था आएको बताउँछिन् । यस्तै मुना स्यावा भन्छिन्, ‘मनछुने चलचित्र बने मानिस हल जान्छन्, त्यस्तो फिल्म बन्न छाडे ।’

चलचित्र निर्माता र निर्देशकहरु पनि पछिल्लो समय फिल्म निर्माणमा मिहिनेत हुन छाडेको स्वीकार गरेका छन् । मिहिनेतका साथ माटो सुहाउँदो चलचित्र बनाउँदा अहिले पनि दर्शक हलसम्म आउने गरेको उनीहरुको भनाइ छ ।

चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले भने, ‘हाम्रो माटो हाम्रो सुगन्ध बोलेका फिल्मले राम्रो कमाइ गरेको छ ।’

निर्देशकहरुले सरकारले चलचित्रसम्बन्धी ऐन बनाउन नसक्दा, चलचित्र विकास बोर्डले सही नीति लिन नसक्दा चलचित्र क्षेत्र झन धरासायी हुँदै गएको आरोप लगाएका छन् । तर विश्वस्तरको प्रविधि देशमा भित्रिएका बेला पनि आफ्नै सिर्जना सुधारमा भने निर्देशकहरु पनि सफल देखिँदैनन् । 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement