बझाङबाट प्रदेशसभामा एमालेले खोस्यो कांग्रेसको सिट

दमनबहादुर भण्डारी निर्वाचित
वैशाख १७, २०८१ |वसन्तप्रताप सिंह
बझाङबाट प्रदेशसभामा एमालेले खोस्यो कांग्रेसको सिट

बझाङ । बझाङ प्रदेशसभा १ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो । अब सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका ११ जना सांसद भएका छन् । तर वर्तमान गठबन्धनमा एमालेको एक सिट बढ्दा सरकार गठन विघटनको खेलमा भने तात्त्विक असर नपर्ने देखिएको छ ।

अन्तिम मत परिणामअनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीले ११ हजार ६ सय १३ मत पाउनुभयो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत पाउनुभयो । 

यसैगरी नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाको ३ हजार ९ सय ६७ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत प्राप्त गर्नुभयो । यहाँ ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

तत्कालीन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो । कांग्रेसका उम्मेदवार सिंह पूर्वसांसद पृथ्वीबहादुर सिंहका छोरा हुनुहुन्छ । गत निर्वाचनमा यो क्षेत्रमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंहले १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाउनुभएको थियो ।

२०२४ साल जेठ १४ गते छबीसपाथिभेरा गाउँपालिकाको भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट राजनीतिक सुरु गर्नुभएको थियो । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आबद्ध भण्डारीले बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लाग्नुभएको थियो ।

बझाङमा लैंगिक हिंसाविरुद्ध अभियानसमेत चलाउनुभएका उहाँलाई एमालेभित्र भद्र र शालीन व्यक्तिका रूपमा चिनिन्छ ।

भण्डारीले २०५४ सालमा तत्कालीन मटेला गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०५५ सालमा जिल्ला कमिटी सदस्य निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय कमिटी सचिव बनेका उहाँ २०६२ सालमा राष्ट्रिय युवा संघ नेपालको अञ्चल कमिटी सचिव बन्नुभएको थियो ।

२०६९ सालमा भएको सातौँ जिल्ला अधिवेशनबाट एमाले जिल्ला सचिव हुँदै हाल बझाङ एमाले अध्यक्षसमेत हुनुहुन्छ । यो उपनिर्वाचनका लागि क्षेत्रीय समन्वय कमिटीमा आकांक्षी ६ जनाबीच मतदान गराउँदा भण्डारीले सबैभन्दा धेरै ९४ मत प्राप्त गर्नुभएको थियो ।


Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।