बझाङ प्रदेशसभा उपनिर्वाचन : चार दलले गराए उम्मेदवारी दर्ता

चैत्र २४, २०८० |वसन्तप्रताप सिंह
बझाङ प्रदेशसभा उपनिर्वाचन : चार दलले गराए उम्मेदवारी दर्ता

बझाङ । आगामी वैसाख १५ गते हुने प्रदेशसभा उपनिर्वाचनका लागि बझाङमा दिउँसो ४ बजेसम्म चार दलले उम्मेदवारी दर्ता गराएका छन् ।

सबैभन्दा पहिला नेकपा एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका थिए । बाजागाजा र जुलुससहित सिंह उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए ।

त्यसलगतै, नेपाली काङग्रेसबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराए । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री एवं प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङको प्रदेशसभा-१ मा उपनिर्वाचन हुँदैछ । अभिषेक स्वर्गीय मन्त्री सिंहका जेठा छोरा हुन् । नारा जुलुससहित नेपाली कांग्रेसका नेता-कार्यकर्ता उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए ।

कांग्रेसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले किशोर खड्काको उम्मेदवारी दर्ता गराएको थियो । खड्का पर्यटन व्यवसायी एवं पूर्व पत्रकार समेत हुन् । राप्रपाका समर्थकहरु बाजा र नारा-जुलुससहित खड्काको उम्मेदवारी दिन निर्वाचन कार्यालय पुगेका थिए ।

प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा एमालेका तर्फबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । भण्डारी नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, सुदुरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुन थापासहितका नेता कार्यकर्ताको जुलुस लिएर उम्मेद्वारी दर्तास्थल पुगेका थिए ।


Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement