त्रिभुवन विश्वविद्यालयका नवनियुक्त रेक्टर खड्ग केसीमाथि बौद्धिक चोरीको आरोप

भारतीय विश्वविद्यालयको पाठ्यक्रम नक्कल गरेको भेटियो
वैशाख ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त रेक्टर खड्ग केसीमाथि बौद्धिक चोरीको आरोप

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त रेक्टर प्राध्यापक खड्ग केसीले बौद्धिक चोरी गरेको खुलेको छ ।

रेक्टर केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख रहँदा सुरु गरेको विद्यावारिधिका दुईवटा विषयको पाठ्यक्रम जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) को पाठ्यक्रमबाट हुबहु सारेको पाइएको हो । जेएनयूले सन् २०१४ मा स्नातकोत्तर तहको ऐच्छिक विषयका रूपमा सञ्चालन गरेको राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र गरी दुई विषयको पाठ्यक्रमलाई त्रिविको विद्यावारिधिमा जस्ताको जस्तै राखिएको छ ।

‘त्यहाँ एमएमा भएका माथिल्लो एमफिलमा राख्ने खालका गतिविधि शिक्षा सुहाउँदो होइन । यो अपराधपूर्ण काम हो,’ त्रिविका प्राध्यापक जगदीशचन्द्र भण्डारीले भने, ‘यदि यस्तो गरिन्छ भने यो बौद्धिक इमानदारी होइन । शैक्षिक इमानदारी पनि होइन । त्यो नैतिकता होइन ।’  उनले यसलाई नैतिकताविरोधी काम रहेको पनि बताए । यदि कसैलै बौद्धिक चोरी गरेको छ भने ऊ कारबाहीको भागिदार हुनुपर्ने भण्डारीको प्रतिक्रिया छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभागले पाँच वर्षअघि विद्यावारिधि सुरु गरेको थियो । त्रिविको पाठ्यक्रमका व्याख्यात्मक भाषामा केही तल-माथि पारिए पनि विषयवस्तु हुबहु राखिएको छ । जेएनयूको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय विषयको पाठ्यक्रमका विषयवस्तु एउटै मात्र नभई शब्द वा कमासमेत जस्ताको तस्तै सारिएको छ ।

‘अर्को देशमा लागु गरिएको पाठ्यक्रम हाम्रो देशमा ल्याएर हु-बहु लागु गर्नु भनेको त बौद्धिक चोरी नै हो,’ प्राध्यापक मनप्रसाद वाग्लेले भने, ‘जसले यस्तो गर्यो यो अपराध नै हो । जसले यस्तो गर्‍यो त्यसमाथि कारबाही नै हुनुपर्छ भन्छु म ।’

जेएनयूले आफ्नो मुलुकको आवश्यकताअनुसार स्नातकोत्तर तहका विद्यार्थीका लागि बनाएको पाठ्यक्रमलाई त्रिविको प्राज्ञिक परिषद्को छाप लगाएर बौद्धिक चोरी गरिनु राष्ट्रिय हित विपरीतसमेत भएको प्राध्यापकहरूको भनाइ छ ।

यसअघि त्रिविका उपकुलपति तीर्थ खनियाँले समेत बौद्धिक चोरी गरेको भन्दै आलोचना भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement