कतारी अमिरको भ्रमणमा १९ वर्ष पुरानो श्रम समझदारी पुनरावलोकनको तयारी

दक्ष जनशक्ति पठाउने व्यवस्था मिलाउन सरोकारवालाको माग
वैशाख ६, २०८१ |सुमन पन्थ
कतारी अमिरको भ्रमणमा १९ वर्ष पुरानो श्रम समझदारी पुनरावलोकनको तयारी

काठमाडौं । नेपालीहरूको एक  प्रमुख श्रम गन्तव्य मुलुक कतारसँग सरकारले १९ वर्ष पुरानो श्रम समझदारी पुनरावलोकन गर्ने तयारी गरेको छ । मंगलबारदेखि हुने कतारी अमिर अल-थानीको नेपाल भ्रमणको अवसरमा उच्चस्तरको श्रम सम्झौताको गृहकार्य भएको हो । वैदेशिक रोजगार विज्ञ तथा व्यवसायीहरूले कतारमा पनि दक्ष जनशक्ति पठाउन सक्ने प्रावधानसहितको श्रम सम्झौता गर्न सुझाएका छन् ।

कतारी अमिरबाट पहिलो पटक हुन लागेको नेपाल भ्रमणका अवसरमा १९ वर्षअघिको श्रम समझदारीको पुनरावलोकन गर्ने नेपालको तयारी छ । गत मंगलबार नै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालका लागि कतारी राजदूतसँग उच्चस्तरको श्रम सम्झौता गर्न नेपाल तयार रहेको सन्देश दिइसकेका छन् । श्रम मन्त्रालयका अनुसार सम्झौताको मस्यौदा तयार पारेर कानुन र परराष्ट्र मन्त्रालयमा पठाइएको छ भने ती मन्त्रालयको रायपछि कतारसँग सम्झौताको पहल हुने छ ।

श्रमिकप्रति अनुदार भनेर चिनिएको कतारसँग नेपालले सात वर्षदेखि नै श्रम सम्झौता पुनरावलोकन गर्न चाहेको छ । दुई देशबीच नयाँ श्रम सम्झौताको तयारी भइरहँदा वैदेशिक रोजगार व्यवसायीहरूले नेपालमा उच्चसिप हासिल गरेका दक्ष जनशक्तिलाई पनि संस्थागत रूपमा पठाउन सकिने प्रावधान समावेश गर्न माग गरेका छन् । खाडीमा महिला श्रमिकमाथि नेपालले लगाएको प्रतिबन्ध फुकुवा गर्न पनि उनीहरूको आग्रह छ ।  

यता श्रम आप्रवासनका जानकारहरूले पनि १९ वर्षअघिको श्रम समझदारीलाई समयानुकूल बनाउन सुझाएका छन् । श्रमिक भर्ना प्रक्रियालाई पारदर्शी बनाउनेदेखि श्रमिकलाई अन्तर्राष्ट्रिय कानुनले दिएका सुविधा प्राप्त हुने व्यवस्था मिलाउन पनि उनीहरूको सुझाव छ । 

श्रम मन्त्रालयका अनुसार नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक कतारमा ३ लाख ६५ हजारभन्दा बढी श्रमिक कार्यरत छन् । कतारले नेपालबाट अदक्ष र अर्धदक्ष श्रमिक लैजाने गरेको छ । 


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement