लबिङ गर्न नसक्दा हामी जी-ट्वान्टीमा परेनौं

भाद्र २३, २०८० |राजेश्वर आचार्य
लबिङ गर्न नसक्दा हामी जी-ट्वान्टीमा परेनौं

- राजेश्वर आचार्य

हामी अलिकति कूटनीतिक रुपले पछि परेका छौं । हाम्रा कूटनीतिक संयन्त्रहरु जति चनाखो र चुस्त दुरुस्त हुनुपर्थ्यो, त्यति भइराखेको छैन भन्ने जी-ट्वान्टीले पनि आभास गराउँछ । किनभने, त्यहाँ मौरिससलाई बोलाइएको छ । नजिकैको कुरा गर्दाखेरि बंगलादेश छ । नेपाल छैन ।

जलवायुको कुरामा त साउथ एशियाको जल भण्डार नै नेपाल हो । यो मानेमा हामी इन्टरनेशनल नेटवर्क फर बेम्बो एण्ड र्याटन (इन्बार) मा संलग्न छौं त्यसले पनि यो हिमालय क्षेत्रको इको सिस्टम र जलवायु परिवर्तनसम्बन्धी विषयलाई कभर गर्छ । यो माउन्टेन रेञ्ज र जलवायु परिवर्तनमा काम गर्ने इसिमोडको मुख्यालय काठमाडौंमै छ । त्यसैले मलाई लाग्छ, हामीबाट अलिकति कूटनीतिक पहल पनि भएन । हामीले केही लबिङहरु गर्नुपथ्र्यो होला शायद । त्यो हुन नसकेका कारणले हामी यसमा परेनौं जस्तो लाग्छ ।

कसैले नेपाललाई बेवास्ता वा वास्ताको कुरो आफ्नो ठाउँमा छ । तर, हाम्रो कूटनीतिक सक्रियता हुनुपथ्र्यो । प्रधानमन्त्रीजी एक–डेढ महिना अगाडि इण्डियाको भ्रमणमा जानुभएको थियो, अलिकति प्रो–एक्टिभ हुनुपर्यो । हाम्रो देशको राजनीतिक र कूटनीतिक संयन्त्रमा त्यो रुपको शायद केही कमी कमजोरी भयो ।

यो जीट्वान्टी भनेको त इकोनोमिक फोरम हो । आर्थिक शक्तिका रुपमा त्यसको सम्मेलन हो । अहिले लबिङ गरेका आधारमा जीट्वान्टी प्लस हुने हो कि जी–२१ हुने हो, किनभने अफ्रिकन युनियन पनि आजबाट त्यसमा सामेल भएको छ । यस्ता चिजहरुमा हामीजस्तो सानो मुलुक, जहाँ हामी सार्कको पनि हेडक्वार्टर छौं, इसिमोड र इन्बायर जस्ता संस्थासँग पनि संलग्न छौं । त्यसैले हामीले पनि अलकति चनाखो र प्रो–एक्टिभ भूमिका लिनुपर्ने हो । अहिले बोल्नेको पीठो बिक्छ । त्यसैले हाम्रो अलिकति कमी कमजोरी भयो कि जस्तो लाग्छ ।

विकासोन्मुख मुलुकको आर्थिक अवस्था उकास्नका निमित्त जी-ट्वान्टी का विकसित राष्ट्रले मद्दत गर्नुपर्‍यो । ऋण लिएका छन् भने माफी गर्नुपर्यो । अरु आर्थिक क्रियाकलापमा संलग्न गराउनुपर्यो । जयवायु परिवर्तनले गर्दा खाद्य सुरक्षामा असर पारेको छ, यसमा पनि जी–२० मा छलफल हुन्छ । त्यसैले अनौपचारिक रुपमा भए पनि हाम्रा कुराहरु परराष्ट्र मन्त्रालयको संयन्त्र र राजदूताबास मार्फत त्यहाँ पु¥याउनुपर्ने हो ।

जी-ट्वान्टी मा विकासोन्मुख मुलुकको भावना त प्रतिनिधित्व हुन्छ, किनभने ५५ देश रहेको अफ्रिकन युनियन पनि त्यसमा सहभागी छ । त्यो मानेमा हामीजस्ता आर्थिकरुपले पछाडि परेका मुलुकहरुको प्रतिनिधित्व र त्यसलाई सहजीकरण हुने कुराहरु सायद पर्लान् जस्तो लाग्छ । किनभने, त्यहाँ विश्व संगठनहरु– जस्तो डब्ल्युटीओ छ । वल्र्ड बैंक छ । आइएमएफ छ । राष्ट्र संघकै महासचिव आउनुभएको छ । यी विश्व संगठनले पनि सहभागिता जनाएको हुनाले शायद यस्ता कुराहरुमा ध्यान पुग्ला र नेपालजस्तो मुलुकले पनि प्रत्यक्ष, अप्रत्यक्ष फाइदा पाउला जस्तो मलाई लाग्छ ।

जी-ट्वान्टी मा अलिकति ठेस लाग्ने जस्तो वातावरण पनि बनेको छ । किनभने, त्यहाँ रुस र चीनका राष्ट्र प्रमुखको प्रतिनिधित्व छैन । रुसका विदेशमन्त्री र चीनका प्रधानमन्त्री जानुभएको छ । यसले गर्दा जी-ट्वान्टी को जुन माहौल हो, त्यो चाहिँ अलिकति खल्लो भएजस्तो पनि देखिन्छ ।

जहाँसम्म बैठकको नाम ‘शेर्पा बैठक’ भनिनुचाहिँ हाम्रो लागि पनि चाख र खोजको विषय हुन सक्छ । यो हाम्रा लागि गौरबको विषय पनि हुन सक्छ । यसलाई हामीले ‘ग्लोरिफाई’ गर्नुपर्छ ।

(परराष्ट्रविद आचार्यसँग कान्तिपुर टेलिभिजनका लागि पर्वत घिमिरेले गरेको कुराकानीमा आधारित)  

जी-ट्वान्टी नयाँ समीकरणको अध्याय हो, नेपाल चनाखो हुनुपर्छ


Image

राजेश्वर आचार्य

राजेश्वर आचार्य परराष्ट्रविद हुन् ।