कतारका अमिरको नेपाल भ्रमण : विपिन जोशीको रिहाइको पहल पूरै ओझेलमा

श्रम सम्झौता पुनरावलोकनको पनि अवसर गुम्यो
वैशाख १२, २०८१ |सुबिन्द्र श्रेष्ठ
कतारका अमिरको नेपाल भ्रमण : विपिन जोशीको रिहाइको पहल पूरै ओझेलमा

काठमाडौं । नेपालका झन्डै ४ लाख श्रमिकको रोजगारीको गन्तव्य मुलुक कतारका अमिर शेख तमिम विन हमाद अल थानीले गरेको यो भ्रमण नेपालीका लागि यसै पनि चासोको विषय छँदै थियो, त्यसमाथि हमाससँग निकट मुलुक भएको नाताले पनि विपिन जोशीको रिहाइको विषयमा नेपालको प्राथमिकतामा हुनुपर्ने थियो । तर, कतारका अमिरको भ्रमणका बेला यी दुवै विषयलाई उपयोग गर्न नेपाल चुकेको देखियो ।

कतारका अमिर आउँदा श्रम सम्झौताको विषय र विपिन जोशी रिहाइ पहिलो प्राथमिकता हुनुपर्नेमा यो पुरै ओझेलमा पर्‍यो । 

मध्यपूर्वी मुलुकबाट उच्चस्तरीय भ्रमण नै नभएको अवस्थामा कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको थियो । त्यसमा पनि करिब ४ लाख नेपाली श्रमिक  रहेको कतारका राष्ट्रप्रमुखको समेत भ्रमण भएकाले सबैका लागि चासोको विषय थियो । 

यही कारण कतारसँग भएको १९ वर्ष पुरानो श्रम सम्झौता पुनरावलोकन हुने अपेक्षासमेत गरिएको थियो । तर नेपालले ठोस तयारी नगर्नु र कतारले समेत अनिच्छा देखाएका कारण हुन सकेन । यस भ्रमणमार्फत हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको विषय पनि सम्बोधन हुने ठानिएको थियो । तर इजरायल हमासबीच शान्ति प्रक्रियामा पहल गरिरहेको कतारमार्फत विपिन जोशीको रिहाइको अवसरलाई नेपालले उपयोग गर्न सकेन । यी दुई विषय मात्र होइन अन्य विषयमा पनि नेपालको तयारी अभाव देखियो ।

दुई पक्षीय वार्ताको एजेन्डा नबने पनि विपिन जोशीको रिहाइको विषय राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवैले कतारका अमिरको व्यक्तिगत भेटघाटमा भने उठाए ।

कतारका अमिर आउनुअघि नै प्रधानमन्त्रीले नै सार्वजनिक मञ्च र सभाहरूमा विपिनको रिहाइका लागि पहल गर्ने भाषण गर्दै हिँड्नुले पनि नेपालको कूटनीतिक अपरिपक्वता देखियो । यस्तो प्रचारबाजीले निम्त्याउने नकारात्मक जोखिमलाई समेत बेवास्ता गरियो । जबकि, यस्तो गम्भीर विषयमा शान्त कूटनीतिमार्फत समाधान गर्नुपर्थ्यो ।

कतारका अमिरको भ्रमणलाई उपयोग गर्न नेपाल चुके पनि लगानी सम्मेलनको मुखैमा भ्रमण भएकाले अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको ठानिएको छ ।

सम्बन्धित समाचार...

नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सम्झौता र समझदारी


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement