नेकपा स्थापनाको आज ७५ वर्ष पूरा

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेकपा स्थापनाको आज ७५ वर्ष पूरा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ ।

नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा स्थापना गरिएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई मार्क्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ ।

नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको हो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव हुनुहुन्थ्यो । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो । स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन् ।

एमालेले आज हीरक महोत्सवका अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ । नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान दिने विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरिने भएकाले समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाललगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचारप्रसार विभागले जनाएको छ ।

हिजो सम्पन्न एमालेको परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement