गाजाको नुसरत शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण, १५ जनाको मृत्यु

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजाको नुसरत शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण, १५ जनाको मृत्यु

काठमाडौं । इजरायलले गाजाको रफाह तथा खान युनिसको नुसरत शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा १५ जना मारिएका छन् ।

आक्रमणमा मारिनेमा बालबालिका तथा महिलासमेत छन् । चौतर्फी विरोधका बाबजुद इजरायली सेनाले रफाहमा स्थल आक्रमण गर्ने योजना कार्यान्वयन गर्ने जनाएको छ । १०  लाखभन्दा बढी प्यालेस्टिनीको आश्रय थलो रफाहमा गरिने कारबाहीले गम्भीर मानवीय संकट निम्तने चेतावनी अन्तर्राष्ट्रिय समुदायले दिँदै आएका छन् ।

गत अक्टोबर ७ यता इजरायली आक्रमणबाट ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिइसकेका छन् भने ७७ हजारभन्दा बढी घाइते भएका छन् । 

यसैबीच, इजरायली आक्रमणका कारण गाजामा छरिएका भग्नावशेष हटाउन १४ वर्ष लाग्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ माइन एक्सन सर्भिसका वरिष्ठ अधिकारी पेहर लोधम्मरेले जेनेभामा पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा यस्तो बताएका हुन् । हमासविरूद्ध इजरायलको सैन्य अभियानले २३ लाख नागरिक घरबारविहीन भएको र उनीहरूमा भोकमरी तथा रोगको जोखिम बढाएको उनले बताए । 

युद्धले जनघनत्व भएको क्षेत्रमा अनुमानित ३७ लाख टन भग्नावशेष छाडेको बताइएको छ । गाजामा फेला परेका विस्फोट नभएका हतियारको यकिन सङ्ख्या निर्धारण गर्न असम्भव भए पनि भत्किएका भवनहरूका भग्नावशेष हटाउन १४ वर्ष लाग्ने अनुमान गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.