काठमाडौं । इजरायलले दक्षिणी गाजासँगको केरेम शालोम नाका चारदिनको बन्दीपछि पुन खुला गरेको छ । यही आइतबार हमासले सो सीमा नाका नजिकै गरेको रकेट आक्रमणमा ४ सैनिक मारिनुका साथै अन्य १० जना घाइतेभएका थिए । सो घटना लगत्तै इजरायलले केरेम शालोम नाका बन्द गरिदिएको थियो ।
इजरायली रक्षा मन्त्रालयका अधिकारीले राजनीतिक नेतृत्वको आदेशपछि बुधवार विहानदेखि सहायता सामग्री बोकेका ट्रकलाई गाजातर्फ प्रवेश गर्न खुला गरिएको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनसँग सोमबार भएको टेलिफोन वार्तामा र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले केरेम शालोम नाका पुन सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
इजरायली सेनाले सोमबार राति इजिप्टबाट गाजा प्रवेश गर्ने रफाह नाकाको गाजातर्फको भाग नियन्त्रणमा लिएको स्थितिमा सहायता सामग्री आपूर्तिका लागि केरेम शालोम नाका थप महत्त्वपूर्ण हुन पुगेको हो । रफाह नाका भने बुधबार पनि बन्द रहेको छ ।
इजरायली सेनाले रफाहमा गरेको हवाई आक्रमणमा सोमबार साँझ यता ९ बालबालिकासहित कम्तीमा २७ जना मारिएको जनाइएको छ ।
यसैबीच इजरायली सेनाले सोमबार दिएको चेतावनी पछि पछिल्लो ४८ घण्टामा पूर्वी रफाहका करिब ५० हजार बासिन्दाले सो क्षेत्र छाडेको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
हमासमाथि दबाब सिर्जना गर्ने उद्देश्यले पूर्वी रफाहमा सीमित स्थल कारबाही सुरु गरिएको सैन्य स्रोतले जनाएको छ ।
उता गाजा संघर्षविराम र बन्धक रिहाइका सम्बन्धमा इजरायल र हमासबीच कायरोमा बुधवार पुन वार्ताको तयारी भएको जनाइएको छ । यसअघि हमासले इजिप्ट र कतारले तयार पारेको संघर्ष विरामको प्रस्तावमा आफनो सहमति रहेकेा जनाए पनि इजरायलले भने उक्त प्रस्तावले आफ्ना माग नसमेटेको भन्दै त्यसलाई अस्विकार गरेको थियो ।