काठमाडौं । इजरायल र गाजाबीच सुरु भएको युद्धमा अहिलेसम्म करिब १५ हजार बालबालिकाको मृत्यु भएको गाजा पट्टीमा कार्यरत सरकारी अधिकारी जनाएका छन् । अधिकारीहरुका अनुसार गत वर्ष अक्टोबर ७ बाट युद्ध सुरु भएयता १५ हजार दुई बालबालिकाको मृत्यु भएको छ । त्यसमध्ये ३० बालबालिकाको भने कुपोषणबाट मृत्यु भएको जनाएका छन् ।
गाजा युद्धको चपेटमा परि करिब १७ हजार बालबालिका अनाथ हुनुका साथै आफ्नो अभिभावक गुमाएका छन् । दक्षिणी गाजामा रहेका अस्पतालहरुसँग आपतकालीन उद्धार गर्ने इन्धनको निकै अभाव भएको र अगामी तीन दिन मात्र चल्ने भन्दै त्यहाँका स्वास्थ्यकर्मीहरुले तत्काल इन्धन उपलब्ध गराउन पूर्ण रुपमा नाका खोल्नु पर्ने बताएका छन् ।
रफाहमा इजरायलको कारबाही पुनः सुरु भएपछि त्यहाँका अस्पतालहरुमा उपचारत बिरामीहरुको उपचार समेत तत्कालका लागि ठप्प गरिएको छ । स्वास्थ्यकर्मीहरुलाई इजरायली सेनाले यातनासँगै बेपत्ता पारिरहेको त्यहाँ कार्यरत डा.ओमार अबदेलले अलजजिरालाई बताएका छन् । त्यहाँ करिब दुई सयभन्दा धेरै स्वास्थ्यकर्मीलाई बेपत्ता पारिएकोमा विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।
इजरायल र हमासबीच इजिप्टको कायरो वार्ता भइरहेपनि इजरायलले गाजामा आफ्नो सैन्य कारबाही रोकेको छैन । वार्तालाई सार्थक रुपमा निष्कर्षमा पुर्याउन इजरायल गम्भीर नभएको हमासले आरोप लगाएको छ । उता इजरायलले आफ्नो माग नसमेटेको भन्दै त्यसलाई अस्वीकार गर्दै आएको छ ।