यूएफा च्याम्पियन्स लिगअन्तर्गत दोस्रो सेमिफाइनल आज रियल र बायर्न भिड्दै

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
यूएफा च्याम्पियन्स लिगअन्तर्गत दोस्रो सेमिफाइनल आज रियल र बायर्न भिड्दै

काठमाडौं । यूएफा च्याम्पियन्स लिगअन्तर्गत दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज स्पेनिस क्लब रियल मड्रिडले जर्मन टोली बायर्न म्युनिखको सामना गर्दै छ । रियलको घरेलु मैदान सान्टियागो बार्नाबेउमा खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने छ । 

अन्तिम आठमा रियलले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो भने बायर्नले अर्को इंग्लिस टोली आर्सनललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । बायर्नको मैदानमा सम्पन्न पहिलो लेगमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए । दुवै टोली जितसहित फाइनलमा स्थान बनाउने योजनासहित मेदान उत्रने छन् ।

स्पेनिस जायन्ट रियालले कीर्तिमानी १४ पटक च्याम्पियन्स लिग जितेको छ । ६ पटक युरोपको सबैभन्दा ठूलो क्लब फुटबल उपाधि उचालेको बायर्नले पछिल्लो पटक २०१९-२० मा च्याम्पियन्स लिग जितेको थियो । रियालले यस जितनको स्पेनिस ला लिगासमेत जितिसकेको छ । बायर्न बुन्डेस लिगाको दोस्रो स्थानमा छ । यस संस्करणको बुन्डेस लिगा लिभरकुसेनले जितिसकेको छ ।

रियाल र बायर्नले हालसम्म एक अर्काविरुद्ध २७ खेल खेलेका छन् । जसमा रियालले २१ र बायर्नले ११ खेल जितेको छ । ४ खेल बराबरीमा सकिएका छन् । आजको खेल जित्ने टोलीले उपाधिका लागि बोरुसिया डर्टमन्डको सामना गर्ने छ । जर्मन टोली डर्टमन्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई समग्रमा २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल इंग्ल्यान्डको वेम्बली स्टेडियममा जुन २ मा हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.