काठमाडौं । फिफाले मतदानमार्फत महिला विश्वकप २०२७ को आयोजक देशको टुंगो लगाउने भएको छ । २०२७ फिफा महिला विश्वकप आयोजनाका लागि ब्राजिलले एक्लै तथा बेल्जियम, नेदरल्यान्ड्स र जर्मनीले संयुक्त रूपमा बोलपत्र बुझाएपछि आयोजक देशको टुंगो लगाउन फिफाले मतदान गराउने भएको हो ।
फिफाका २ सय ११ सदस्य राष्ट्रले मे १७ मा बैंककमा हुने ७४ औं फिफा कांग्रेसमा मतदान गर्ने छन् । बोलपत्र प्रस्तुत गरेका दुवै पक्षले होस्टिङ मापदण्ड पूरा गरेको तर ब्राजिलले स्टेडियम, आवास,फ्यान जोन र यातायात जस्ता क्षेत्र तथा प्राविधिक पक्षमा उच्च स्कोर पाएको फिफाले बताएको छ ।
बेल्जियम, नेदरल्यान्ड्स र जर्मनी पनि आवश्यक मापदण्ड पूरा गर्न तत्पर भएको फिफाले जनाएको छ । ब्राजिलले आयोजना अधिकार पाए महिला विश्वकप पहिलो पटक दक्षिण अमेरिकामा आयोजना हुनेछ ।