जब २ लाख ६५ हजारभन्दा धेरै धावक एकैपटक दौडिए

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
जब २ लाख ६५ हजारभन्दा धेरै धावक एकैपटक दौडिए

काठमाडौं । अस्ट्रियाको भियना लगायत युरोपका विभिन्न ठाउँमा गरिएको च्यारिटी दौडमा विश्वमै अहिलेसम्मकै धेरै धवकको सहभागिता भएको छ । दौडमा विश्वका १ सय ६९ देशका २ लाख ६५ हजारभन्दा धेरै धावक सहभागी भए । गत साता भएको एघारौं संस्करणको 'विङ्स फर लाइफ वर्ल्ड रन'ले अहिले विश्वभर चर्चा कमाइरहेको छ ।

'उसका लागि दौडने जो दौडन सक्दैनन्' स्लोगन राखिएको दौड प्रतियोगिता एक च्यारिटी दौड हो । दौडमा विश्वका १ सय ६९ देशका धावक सहभागी बने । सहभागी संख्या धेरै भएकाले ३ सय ४५ ठाउँबाट एकै साथ प्रतियोगिता सुरु गरिएको थियो । त्यसैगरी, आयोजकले सार्वजनिक गरेको विङ्स फर लाइफ वर्ल्ड रन नामक मोवाइल एप्लिकेसनको प्रयोग गरेर मानिसहरु अन्य ठाउँबाट पनि यो दौडमा सहभागी भएका थिए । इंग्ल्यान्डका पूर्वओलम्पियन कोलिन ज्याकसनले यो दौड विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताएका छन् । टेनिस स्टार स्टोफानो चिचिपासले पनि उत्साही पूर्वक सहभागी भएको बताएका छन्।

प्रतियोगितामा सहभागी बनेकाले औषतमा ११ दशमलव पाँच किलोमिटर दूरी पार गरेका थिए । प्रतियोगिताको पुरुषतर्फ जापानका टोमोया वातानवे कीर्तिमानसहित पहिलो भए । उनी ७० दशमलव ०-९ किलोमिटर दौडिए । यता, महिलातर्फ पोल्यान्डकी डोमिनिका स्टेलमच पहिलो भइन् । डोमिनिकाले ५५ दशमल २ किलोमिटर दौडिइन्ए । 

विङ्स फर लाइफ संस्थाका प्रमुख कार्यकारी अधिकृत एनिता गेरहार्डका अनुसार यो वर्षको संस्करणमा ८१ लाख ४ हजार अमेरिकी डलर रकम संकलन भएको छ । यो रकम स्पाइनल कर्डमा लाग्ने चोटका बारेमा अध्ययन र क्लिनिकल परीक्षणमा प्रयोग गरिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.