पिएसजीलाई हराउँदै डर्टमन्ड पुग्यो च्याम्पियन्स लिगको फाइनलमा

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पिएसजीलाई हराउँदै डर्टमन्ड पुग्यो च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई १-० तथा समग्रमा २-० ले हराउँदै डर्टमन्ड फाइनलमा प्रवेश गरेको हो । डर्टमन्डले पहिलो लेगमा पनि १-० गोल अन्तरकै जित हासिल गरेको थियो ।

डर्टमन्डलाई ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा स्थान दिलाउन दोस्रो लेगमा म्याट्स हुमेल्सले निर्णायक गोल गरे । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पिएसजीले भने गोल गर्न सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औं मिनेटमा जुलियन ब्रान्ड्टको कर्नर किकमा हुमेल्सले हेडर मार्फत गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । यससँगै पहिलो लेगमा निकलास फुलक्रुगलको गोल मार्फत अग्रता बनाएको डर्टमन्डले समग्रमा २-० को नजितासहित फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

पछिल्लो पटक २०१३ मा फाइनलसम्म पुगे पनि डर्टमन्ड बायर्न म्युनिखसँग पराजित भएको थियो । डर्टमन्डले एक मात्र च्याम्पियन्स लिग उपाधि १९९७ मा युभेन्टसलाई पराजित गर्दै जितेको थियो । 

डर्टमन्डले अब उपाधिका लागि रियाल मड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलको दोस्रो लेग आज राति हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.