दशरथ रंगशालाले गुमायो अन्तर्राष्ट्रिय मान्यता

फ्लड लाइट र सुरक्षामा एएफसीको प्रश्न
यूएईसँगको विश्वकप छनोट नेपालमा नहुने
वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
दशरथ रंगशालाले गुमायो अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । मापदण्ड कायम गर्न नसक्दा काठमाडौंको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएको छ । खराब पिचका कारण फिफा विश्वकप छनोटअन्तर्गत बहराइनसँग घरेलु मैदानमा खेल्ने अवसर गुमाएको नेपाली फुटबललाई फेरि अर्को धक्का लागेको हो ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आगामी जेठ २४ गते दशरथ रंगशालामा विश्वकप छनोटअन्तर्गत यूएईसँग खेल्ने तालिका छ । त्यसका लागि एएफसीका म्याच कमिस्नर सुब्रतले यही वैशाख १९ र २० गते रंगशाला र अभ्यास मैदानको निरीक्षण गरेका थिए । 

दशरथ रंगशालाको मान्यता गुम्न नदिन एएफसीसँग छलफलमा रहेको एन्फाका महासचिव किरण राईले कान्तिपुर टेलिभिजनलाई जानकारी दिनुभएको छ ।

अहिले रंगशालाको संरक्षण राष्ट्रिय खेलकुद परिषद्ले गरिरहेको छ । विभिन्न खेलकुद आयोजना गरेपछि रंगशालाको मैदानको पिच बिग्रिएको छ । राखेपले एक निजी कम्पनीलाई मैदान बनाउने जिम्मेवारी दिएको छ । यता, सुरक्षा मापदण्डलाई लिएर भने रंगशालाको भौतिक परिवर्तन आवश्यक रहेको एएफसीले औंल्याएको छ ।

१९ गते अभ्यासका लागि प्रस्ताव गरिएको च्यासल र भद्रकालीस्थित त्रिभुवन आर्मी क्लबको मैदान निरीक्षण गरेको एएफसीको टोली भोलिपल्ट दशरथ रंगशाला पुगेको थियो । निरीक्षणपछि एएफसीले बुझाएको रिपोर्टमा रंगशालाको पिच पहिलेभन्दा राम्रो भए पनि यूएईसँगको खेलका लागि योग्य नभएको उल्लेख छ ।

यस्तै फ्लडलाइट मापदण्डअनुसार नभएको, एन्फाले सेफ्टी सर्टिफिकेट र इभ्याक्युएसन प्लान एएफसीलाई नबुझाएको एएफसीको रिपोर्टमा छ । अभ्यासका लागि च्यासलको पूर्वाधार पर्याप्त नभएको जनाइएको छ । एएफसीले एन्फालाई वैशाख २८ गतेभित्र न्युट्रल भेन्यु प्रस्ताव गर्न निर्देशन दिएको छ । यदि नगरे एएफसी आफैंले नेपाल र यूएईबीचको खेलका लागि न्युट्रल भेन्यु घोषणा गर्नेछ ।

यही अवस्थामा आगामी दिनमा पनि रंगशाला अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अयोग्य देखिएको छ । तत्कालका लागि भने फेरि नेपाल एकपटक आफ्नै मैदानमा खेल्ने अवसरबाट वञ्चित भयो । दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषदको मातहतमा छ ।

१९९९ मा चीन सरकारले रंगशालाको पुनर्निर्माण गरिदिएको थियो । रंगशालालाई २०७२ सालको भूकम्पले क्षति पुर्यायो । त्यसको दुई वर्षपछि रंगशाला पुनर्निर्माण भएको थियो । यो रंगशालामा स्कुलका कार्यक्रम, कन्सर्टदेखि विभिन्न समारोह हुँदै आएका छन् ।

अन्तर्राष्ट्रिय मान्यता पाएको दशरथ रंगशाला नै नेपालको एकमात्र रंगशाला हो । दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने भएपछि अब नेपालमा अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने कुनै मैदान हुने छैनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.