काठमाडौं । नेपालले, वेस्ट इन्डिज एसँग आज तेस्रो टि-ट्वेन्टी खेल खेल्दैछ । कीर्तिपुरस्थित टीयू मैदानमा खेल सवा १२ बजे सुरु हुनेछ ।
पाँच खेलको सिरिज एक-एकको बराबरीमा छ । पहिलो खेलमा कप्तान रोहित पौडेलले १ सय १२ रनको उत्कृष्ट इनिङ्स खेलेपछि नेपाल ४ विकेटले विजयी भएको थियो । तर, दोस्रो खेलमा वेस्ट इन्डिजले पुनरागमन गर्दै १० रनको जीतका साथ सिरिज बराबरी गरेको छ ।
पहिलो टि-ट्वेन्टीमा नेपालले २ सय ५ रनको लक्ष्य पछ्याएको थियो । दोस्रोमा १ सय ६१ रनको लक्ष्य पाएको नेपाल १ सय ५० रनमा रोकिएको थियो । दुवै खेलमा ब्याटिङमा रोहित बाहेक अन्य खेलाडीबाट उत्कृष्ट प्रदर्शन हुन सकेको छैन ।
विश्वकपको तयारीका लागि भइरहेको सिरिजको तेस्रो खेलमा नेपाल लयमा फर्किने अपेक्षा गरिएको छ । यो खेलपछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टि-ट्वेन्टी विश्वकप खेल्ने अन्तिम टोलीको पनि टुंगो लगाउनेछ ।
आज रातिसम्म आईसीसीलाई १५ खेलाडीको नाम बुझाउनु पर्नेछ । त्यसैले खेलाडीका लागि आजको प्रदर्शन महत्वपूर्ण हुनेछ । मुख्य प्रशिक्षक मोन्टी देसाईले सुरुवाती ११ मा परिवर्तन गर्ने सम्भावना उच्च छ । अघिल्लो खेलमा उनले पाँच परिवर्तन गरेका थिए । आज विकेट किपर ब्याटर विनोद भन्डारीले मौका पाउन सक्छन् । वेस्ट इन्डिजले पनि विश्वकप खेल्ने टिम घोषणा गर्न बाँकी छ ।