वेस्ट इन्डिज 'ए'सँगको दोस्रो टी-ट्वेन्टी खेलमा नेपाल पराजित

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिज 'ए'सँगको दोस्रो टी-ट्वेन्टी खेलमा नेपाल पराजित

काठमाडौं । वेस्ट इन्डिज 'ए'सँगको दोस्रो टी-ट्वेन्टी खेलमा नेपाल १० रनले पराजित भएको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्रै बनाउन सफल भयो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाए । ४८ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे । यस्तै गुल्शन झाले २६ र लोकेश बमले १७ रन बनाए भने अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्ट इन्डिजका लागि ओबेद म्याकोइले र गुडाकेस मोतीले समान २-२ विकेट लिए । यस्तै रोस्टन चेज र ओसन थोमसले समान १-१ विकेट लिए । 

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लिचरले ४३, गुडाकेस मोतीले ३३, रोस्टन चेजले २३ र जोन्सन चाल्सले ११ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले समान २-२ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिएका छन् । हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । आजको खेलसँगै नेपाल र वेस्ट इन्डिज 'ए' सिरिजमा १-१ को बराबरी अवस्थामा पुगेका छन्  । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.