रोमाञ्चक बन्दै एनएसएलको प्लेअफ होड, अझै पाएन दर्शकको साथ

पुस १, २०८० |न्युज एजेन्सी नेपाल
रोमाञ्चक बन्दै एनएसएलको प्लेअफ होड, अझै पाएन दर्शकको साथ

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन अन्तिम चरणमा पुग्दा प्लेअफ होड रोमाञ्चक मोडमा पुगेको छ ।

यस सिजनको कुल ३६ खेलमध्ये अब ९ खेल खेल्न बाँकी रहँदा प्लेअफमा पुग्ने टोलीको टुंगो लाग्न सकिरहेको छैन । पहिलो संस्करणमा विराटनगर सिटीसहित ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । यसपटक विराटनगर सहभागी भएन । दोस्रो संस्करणमा वीरगन्ज युनाइटेड, स्पोर्टिङ इलाम र झापा एफसीले डेब्यु गरेका हुन् । तर डेब्यु टोलीको प्रदर्शन सुखद् बन्न सकेन । यी तीनमध्ये स्पोर्टिङ इलामको प्लेअफ सम्भावना लगभग सकिएको छ । नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ता अञ्जन विष्टको कप्तानी रहेको झापाको भने आशा जीवित छ । विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा झापाले सुरुवात चरणमा धेरै संघर्ष गर्नुपर्‍यो ।

पछिल्ला खेलमा लयमा फर्किए पनि झापाको प्लेअफ सम्भावना सहज भने छैन । पाँचौं स्थानमा रहेको झापाले अब दुई खेल मात्र खेल्ने बाँकी छ । तर झापाभन्दा माथि शीर्ष चारमा रहेको अधिकांश टोलीले जारी सिजन राम्रो प्रदर्शन गरिरहेका छन् । उनीहरू नै प्लेअफका लागि बलिया दाबेदार देखिएका छन् । शीर्ष स्थानमा रहेको धनगढीले कुल आठ खेलमध्ये पाँच खेलबाटै ११ अंक बटुलेको छ । गत संस्करणको उपविजेता धनगढी यस सिजनको अपराजित दुई टोलीमध्ये एक पनि हो ।

धनगढीको यो सफलतामा अग्रपंक्तिका अहमद हिजाजी, ओलावाले अफिज र फोडे फोफनाको प्रदर्शन पनि हो । पाँच विदेशी खेलाडीमध्ये घानाका रिचर्ड एग्येमेङकले पनि रक्षापंक्तिमा राम्रो भूमिका खेल्दा धनगढी यसपटक पनि दाबेदारका रूपमा देखिएको छ । धनगढीभन्दा एक खेल बढी खेलेको पोखरा थन्डर्स अर्को बलियो टोली हो । गत सिजन पाँचौं स्थानमा रहेर लिग टुंग्याएको पोखरा यसपटक ११ अंकसहित दोस्रो स्थानमा छ । गत सिजन बुटवल लुम्बिनीसँग समान ८ अंक भए पनि गोलअन्तरमा पछि पर्दै प्लेअफमा जान नपाएको पोखराले यस सिजन भने सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको छ ।

मार्की खेलाडी तथा राष्ट्रिय टोलीका सदस्य आयुष घलान यस सिजन चम्किँदा पोखराले यस सिजन बलियो दाबेदारी प्रस्तुत गरेको हो । गत संस्करणकै एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीको बाटो खोलेका आयुषले यस सिजन मिडफिल्ड राम्रो भूमिका खेल्दै विपक्षी टोलीका लागि चुनौती बनिरहेका छन् । राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर सिटी ६ खेलबाट १० अंकसहित तेस्रो छ । दुई खेल बाँकी छँदा ललितपुर दोस्रो अपराजित टोली हो । यस सिजन सबैभन्दा धेरै गोल (७) गर्ने टोलीमा ललितपुर संयुक्त रूपमा शीर्षमा छ ।

बलियो रंक्षापक्तिसँगै गोलकिपर जेफ्री विली मार्सेलले चार खेलमा क्लिन सिट राख्दा ललितपुर सिटी एफसीलाई यस सिजन दाबेदार टोलीका रूपमा उभ्याएको हो । चौथो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको पाँच खेलबाट ८ अंक छ । तीन खेल बाँकी रेजर्स अझै उपाधि रक्षा गर्ने होडमा छ । मार्की तथा राष्ट्रिय टोलीका सदस्य हिसुब थपलियाको प्रदर्शन खासै राम्रो नरहे पनि पाँच विदेशी खेलाडीको साथ पाएपछि रेजर्सले शीर्ष दाबेदारी कायमै राखेको हो ।

रेजर्सको अग्रपंक्तिका एनकेङ्ग्यु जुनियर र सोखरुखको प्रदर्शन तारिफयोग्य छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगकै अनुभवी आन्द्रेस नियाले आफ्नो भूमिका राम्रोसँग निभाउँदा रेजर्स बलियो प्रतिद्वन्द्वीका रूपमा दोस्रो सिजन पनि उभिएको हो । तर, डेब्यु टोली झापा, इलाम र वीरगन्जसहित अन्य टोलीको प्रदर्शन भने सुखद् बन्न सकेन । गत सिजन पुछार रहेको लिग टुंग्याएको एफसी चितवनको यसपटक पनि प्रदर्शन यादगार बन्न सकेन । यद्यपि, चितवन यसपटक पनि प्लेअफमा पुग्ने सम्भावना कठिन नै छ । अब चितवनले अन्तिम खेल झापासँग खेल्नेछ ।

त्यो खेलमा जितबाहेक आफूभन्दा माथि रहेका टोलीको हार कल्पना गर्नुपर्नेछ । तर त्यो नतिजा आउन असम्भव जस्तै देखिन्छ । तथापि, यसपटक ९ खेल बाँकी रहेकाले अझै यही टोली शीर्ष चारमा रहन्छन् भन्न सकिने अवस्था भने छैन । नेपालमा पहिलोपटक फ्रेन्चाइज फुटबल लिगको सुरुवात २०७६ सालबाट भएको थियो । देशमा कोराना महामारी फैलिरहेको समयमा पनि कठिन अवस्थाका बीच एनएसएलको पहिलो संस्करण सम्पन्न हुन पुग्यो । त्यो आयोजनालाई दर्शकले प्रत्यक्ष रूपमा हेर्न पाएनन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को राजनीति चेपाइमा परेपछि एनएसएलको दोस्रो आयोजना लामो समय प्रभावित बन्न पुग्यो । त्यो पनि करिव साढे दुई वर्षसम्म । लामो समयको पर्खाइपछि दोस्रो संस्करण भयो । त्यो पनि केही परिस्कृत नियमसहित । यस सिजन युरोपेली फुटबल अनुभवी फलोउ डियाग्नेले धनगढीबाट पनि खेलिरहेका छन् । उमेर पाका फलोउको प्रदर्शन आशातित बन्न सकेको भने छैन । तर, अफ्रिकन र केही नयाँ फुटबरले नेपाली फुटबलमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन दिए पनि २७ खेल सकिँदासम्म दर्शकको साथ भने एनएसएलले पाउन सकेको छैन ।


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।